धादिङ,३०-पुष
नेपाली राजनीतिमा ठूलो हलचल ल्याउने गरी नेपाली कांग्रेस अन्ततः विभाजनको अवस्थामा पुगेको छ। पार्टीभित्र लामो समयदेखि चलिरहेको नेतृत्व विवाद र विशेष महाधिवेशनको विषयलाई लिएर देखिएको टकरावले पार्टी विभाजनको अबस्थामा पुगेको छ ।
यसअघि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले महामन्त्री गगनकुमार थापा, महामन्त्री विश्वप्रकाश शर्मा तथा उपमहामन्त्री फरमुल्लाह मन्सुर लाई पार्टीको विधान र अनुशासन उल्लंघन गरेको आरोपमा पाँच वर्षका लागि निष्कासन गर्ने निर्णय गरेको थियो । यस निर्णयपछि पार्टीभित्रको विवाद झनै चर्किएको छ। निष्कासित नेताहरूले यस निर्णयलाई अस्वीकार गर्दै आफूहरू वैधानिक नेतृत्वधारी भएको दाबी गरेका छन्।

संस्थापन पक्षले विशेष महाधिवेशन बोलाउने प्रक्रिया विधानविपरीत भएको दाबी गर्दै कारबाही गर्नुपरेको जनाएको छ। अर्कोतर्फ, कारबाहीमा परेका नेताहरूले केन्द्रीय कार्यसमितिको निर्णय अवैध भएको तर्क गर्दै न्यायका लागि निर्वाचन आयोग गुहारेका छन् ।

विशेष महाधिवेशनमा गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् भने देउवा पक्षले आफ्नै नेतृत्व कायम राख्ने दाबी गरेको छ। यसले पार्टीभित्रको द्वन्द्व अझै बढाएको छ र अब दुवै पक्षले निर्वाचन आयोगमा अलग–अलग दाबी पेश गरेका छन्। आयोगको निर्णयले अब कुन पक्षलाई पार्टीको आधिकारिक प्रतिनिधित्व मिल्ने भन्ने विषय तय गर्नेछ।

देशकै सबैभन्दा पुरानो र ठूलो दलमध्ये एक नेपाली कांग्रेसमा आएको यो विभाजनले राष्ट्रिय राजनीतिमा नयाँ ध्रुवीकरण सिर्जना गर्ने संकेत देखिएको छ। आगामी फाल्गुन २१ मा हुने निर्बाचन अघि यो घटनाले मतदाता, गठबन्धन रणनीति र सत्ता समीकरणमा गहिरो प्रभाव पार्ने विश्लेषकहरूको भनाइ छ।

पार्टीका वरिष्ठ नेताहरू र शुभेच्छुकहरूले विभाजन देशको लोकतन्त्र र पार्टीको एकताका लागि हितकर नभएको भन्दै आलोचना र चिन्ता व्यक्त गरेका छन्। राजनीतिक विश्लेषकहरूले भनेका छन्, “यो घटनाले कांग्रेसभित्र दीर्घकालीन नेतृत्व संकट र पार्टीको आधारभूत संरचनामा परिवर्तन ल्याउने संभावना छ।”
