धादिङ,३–चैत्र,
धादिङको नीलकण्ठ नगरपालिका वडा नं। ७ अन्तर्गत तल्लोवेसी लगायतका स्थानीय बासिन्दाको लामो समयदेखिको आवश्यकता पूरा हुने भएको छ। पिप्ले–हाँडिखोला (ओडारे ढल्केवर) मा पुल निर्माण प्रक्रिया अगाडि बढेसँगै अब निर्माण कार्य सुनिश्चित भएको छ।
नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्मा को योजना माग सिफारिसमा बागमती प्रदेशका पुर्व मुख्यमन्त्री शालिकराम जमरकटेल प्रदेश सदस्य गोविन्द लम्सालको विशेष पहलपछि बागमती प्रदेश सरकारले आर्थिक वर्ष ०८२/८३ का लागि उक्त पुल निर्माण योजना अघि बढाएको हो।

‘पिप्ले–हाँडिखोला पुल (ओडारे–ढल्केवर सहित) नीलकण्ठ–७’ शीर्षकमा सुरुमा विनियोजन गरिएको ५० लाख रुपैयाँ बजेटलाई बहुवर्षीय ठेक्का प्रक्रियामा लैजान स्रोत सुनिश्चित गरिएको छ। यससँगै करिब ३ करोड २२ लाख रुपैयाँ लागत बराबरको पुल निर्माणका लागि टेण्डर आह्वान गरिएको पूर्वाधार विकास कार्यालयले जनाइएको छ।
विगतमा पटक–पटक बजेट विनियोजन भए पनि विभिन्न कारणले टेण्डर प्रक्रिया अघि बढ्न सकेको थिएन। तर यसपटक सबै प्रयास सफल भई योजना कार्यान्वयनको चरणमा पुगेको उपप्रमुख विश्वकर्माले बताएका छन्।
उपप्रमुख विश्वकर्माले जनताको वास्तविक समस्या समाधान हुने स्थानमा योजना पार्न सहयोग गर्ने प्रदेश सरकारका प्रतिनिधिहरू तथा सुरुदेखि नै डीपीआर निर्माणदेखि प्राथमिकतामा राखेर आवश्यक सहयोग पुराउने पूर्वाधार विकास कार्यालय धादिङ र सम्बन्धित सबै पक्षप्रति नगरपालिकाको तर्फबाट आभार व्यक्त गरेका छन्।
स्थानीय बासिन्दाले पुल निर्माण भएपछि आवतजावत सहज हुने, विकासका गतिविधि तीव्र हुने र दैनिक जनजीवनमा ठुलो राहत पुग्ने अपेक्षा गरेका छन्।
