धादिङका ५ हजार ४७५ विद्यार्थीले एसईई दिँदै

भोली ७ गते बाट धादिङमा २४ वटा परीक्षा केन्द्रबाट १६२ विद्यालयका ५ हजार ४७५ विद्यार्थीहरूले यस वर्षको एसईई परीक्षा दिँदै छन् ।

ती मध्ये १३४ सामुदायिक विद्यालय, १८ संस्थागत विद्यालय, ८ प्राविधिक विद्यालय, र २ खुला विद्यालय रहेका छन् । परीक्षामा सामुदायिक विद्यालयबाट ५ हजार ९४ विद्यार्थी तथा संस्थागत विद्यालयबाट ३ सय ८१ विद्यार्थी सहभागी हुने छन् ।

जसमध्ये सक्सेस एकेडेमीमा अध्ययनरत एक दृष्टिविहीन विद्यार्थीले पनि परिक्षा दिदैछन् । उनलाइ अन्य विद्यार्थीहरू भन्दा अलग राखी विशेष व्यवस्था सहित अतिरिक्त समय प्रदान गरिने व्यवस्था मिलाएको शिक्षा विकास तथा समन्वय इकाइ धादिङका प्रमुख भूमिलाल सुवेदीले जानकारी दिनुभयो । महाकाली माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट उनले परिक्षा दिनेछन् ।

परीक्षार्थीहरूको वर्गीकरण अनुसार, नियमित तर्फ ४ हजार ३ सय ४७ जना, प्राविधिकतर्फ १ सय ६४ जना, खुला शिक्षातर्फ ३२ जना, र ग्रेड वृद्धि तर्फ ९ सय ३२ जना परीक्षामा सहभागि हुनेछन् ।

परीक्षाको निष्पक्षता र विश्वसनीयता कायम राख्न होम सेन्टरको व्यवस्था नगरिएको र सबै परीक्षा केन्द्रहरूमा उच्च सुरक्षा सतर्कता अपनाइएको सुवेदीले जानकारी दिनुभयो ।

प्रत्येक केन्द्रमा प्रधानाध्यापकलाई केन्द्राध्यक्षको रूपमा तोकिएको छ भने, विद्यार्थी संख्याको आधारमा ४३ जना सहायक केन्द्राध्यक्ष, २७५ जना निरीक्षक, ५६ जना सहायक निरीक्षक, ३६० जना सुरक्षाकर्मी, र ११० जना सहयोगी कर्मचारी खटाइएका छन् । यसरी, परीक्षा व्यवस्थित, सुरक्षित, र मर्यादित ढंगले सम्पन्न गर्न ८६८ जनाजनशक्ति परिचालन गरिएको छ।

परीक्षा सबैको लागि मर्यादित, सुरक्षित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन सबै तयारी पुरा भइसकेको शिक्षा विकास तथा समन्वय इकाइ धादिङका प्रमुख भूमिलाल सुवेदीले जानकारी दिनुभयो ।

साथै, सबै परीक्षा केन्द्रहरूमा कक्षा कोठा व्यवस्थापन कार्य पूरा भएको, प्रश्नपत्र र उत्तरपुस्तिका सम्बन्धित निकायमा सुरक्षित रूपमा पुर्याइएको उहाँले जानकारी दिनुभयो ।

Related posts

Leave a Comment