१५ माघ, धनगढी । अछाममा गोठालो गएका दुई जना किशोरी मृत अवस्थामा भेटिएको घटनाको अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालयको टोली खटिएको छ ।
प्रदेश प्रहरी कार्यालयले ढकारी गाउँपालिका-१ को छिन्ने जंगलमा ढकारी-८ पल्साताकी १५ वर्षीय सरस्वती खड्का र १४ वर्षीय इशरा खड्का मृत भेटिएको घटनाको अनुसन्धानका लागि टोली खटाएको हो ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) गणेश चन्दले जिल्ला प्रहरी कार्यालयले गरिरहेको अनुसन्धानलाई सघाउन प्रदेशबाट छुट्टै टोली परिचालन गरिएको बताउनुभयो।
‘जिल्ला प्रहरी कार्यालयले दुई जनालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिररहेको छ तर अहिलेसम्म धेरै कुरा खुलेको छैन्,’ उहाँले भन्नुभयो, ‘अनुसन्धानलाई सघाउन प्रदेशबाट टोली परिचालन गर्दैछौं । दिउँसोसम्म अछाम पुग्छ ।’
शनिबार बाख्रा चराउन गएका दुवै किशोरी बेपत्ता भएका थिए । खोजी गर्ने क्रममा दुवै जना आइतबार मृत अवस्थामा फेला परेका थिए ।
जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख, डीएसपी ईश्वरी भण्डारीकाअनुसार घटनाको अनुसन्धानका लागि दुई जनालाई पक्राउ गरिएको छ । उनीहरूमाथि अनुसन्धान जारी छ ।
सोधपुछका लागि समेत प्रहरीले केहीलाई नियन्त्रणमा लिएको थियो । उनीहरूलाई सोधपुछपछि छाडिएको प्रहरीले जनाएको छ ।
अछाममा किशोरीहरु मृत भेटिएको घटनाः प्रदेशको टोली ले सुरु गरे अनुसन्धान
