धादिङ, ०२-कात्तिक
तिहारको अवसरमा वेनीघाट रोराङ गाउँपालिका वाइसीएल धादिङद्वारा आयोजित तिहार विशेष शुभकामना तथा उपहार कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। सामुदायिक एकता, सांस्कृतिक संरक्षण र सामाजिक सद्भाव प्रवर्द्धन गर्ने उद्देश्यका साथ वेनीघाट रोराङ गाउँपालिका–७ घार्टीमा आयोजना गरिएको कार्यक्रममा उत्साहपूर्ण सहभागिता देखिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि वेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलिया (विवेक) रहेका थिए। कार्यक्रममा वाइसीएल वेनीघाट रोराङ अध्यक्ष रामसरन बराम, वाइसीएल धादिङ उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष राजन लामा, वाइसीएल धादिङ सचिव सन्तोष रेग्मी लगायत स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी तथा स्थानीयवासीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा मनोरञ्जनात्मक सांस्कृतिक प्रस्तुति साथै चिठ्ठा मार्फत विभिन्न उपहार वितरण गरिएको थियो। कार्यक्रममा खसी, कुखुराको भाले, फ्रिज, मोबाइल फोन लगायतका आकर्षक पुरस्कार राखिएको थियो। चिठ्ठा कार्यक्रमबाट प्रथम पुरस्कार कमल राना मगरले, दोस्रो पुरस्कार योगेन्द्र ढुंगानाले र तेस्रो पुरस्कार शुक्रमणि श्रेष्ठले प्राप्त गरे। त्यस्तै सान्त्वना पुरस्कार कुलबहादुर त्रिपाठी र आयुस तामाङले प्राप्त गरेका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि थपलियाले तिहारले नेपाली समाजमा आपसी एकता, धार्मिक सद्भाव र सामाजिक सम्बन्ध मजबुत बनाउन सहयोग पुर्याउने बताए। उनले यस्ता कार्यक्रमले स्थानीयस्तरमा सामुदायिक भावना जागृत गराउने र संस्कृतिको संरक्षणमा योगदान पुर्याउने उल्लेख गरे।
लोक तथा दोहोरी गायकहरूको प्रस्तुति सहितको सांस्कृतिक कार्यक्रमले उपस्थित दर्शकहरूको मनोरञ्जन थप गरेको थियो। स्थानीय कलाकार र युवा सहभागीहरूको सक्रिय भूमिकाले कार्यक्रम सफल बनेको आयोजकले जनाएको छ। वाइसीएल वेनीघाट रोराङ गाउँपालिका समितिको मुख्य आयोजनामा सम्पन्न कार्यक्रम शान्तिपूर्ण वातावरणमा समापन गरिएको छ।
