धादिङ, २४–असोज
उत्तरी धादिङमा चल्ने सवारी साधनहरुले तोकिएको भन्दा बढी भाडा असुल्ने गरेको पाइएको छ । खनियाँबास गाउँपालिका–१ पेर्चो देखि धादिङबेँसीसम्म चल्ने संयुक्त यातायात प्रालिका सवारीसाधनहरूले हजार रुपियाँको टिकट काटेर १ हजार पाँच सय रुपैयाँ लिदै आएको यात्रुहरुले गुनासो गरेका छन् ।
चाडपर्वको समयमा भन्दै बढी भाडा लिदै आएको संयुक्त यातायात प्रा.लि.का सवारीसाधनहरूले दशै सकिएर दिपावली लाग्नै लाग्दा समेत महंगो भाडा असुल्दै आएको सुवम तामाङले बताए । चलानीमा १ हजार रुपैयाँ लेखिए पनि १ हजार पाँच सय रुपियाँ भाडा असुल्ने गरेका छन्’ उनले भने– ‘केही दिन त चाडपर्वको समय भएर होला भनेर चुप बस्यौं । तर हिजाआज पनि ५० प्रतिशत बढी भाडा असुली रहेका छन् । यात्रुलाई मारमा पारेका सवारी साधनलाई सरोकारवाला निकायले कानुनी दायरामा ल्याउन आवश्यक छ ।’
सरोकारवाला निकायलाई पटक–पटक यात्रु मारमा परेको गुनासो गरेपनि सुनुवाई नभएको गजेन्द्र तामाङ बताउँछन् । ‘महंगो भाडा तिरेर यात्रुहरु यात्रा गर्न बाध्य छन्’ उनले भने– ‘जिल्ला प्रशासन कार्यालय धादिङ, स्थानीय तह तथा प्रहरीलाई गुनासो गरेपनि समस्याको समाधान भएको छैन ।’
यात्रुहरुले गुनासो गरिरहदा धादिङका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले भने बढी भाडा असुल्ने सवारी साधनलाई कार्वाही गरिरहेको बताएका छन् । ‘धादिङ काठमाडौं चल्ने सवारी तथा पृथ्वी राजमार्गमा गुड्ने सवारीसाधनहरुलाई चेकजाँच गरि कार्वाही गरेका छौं । लिएको बढी भाडा यात्रुलाई नै फिर्ता समेत गरिएको छ । उनले भने– ‘धादिङको दुर्गम क्षेत्रमा चल्ने सवारी साधनहरुमा पनि बढी भाडा असुल्ने गरेको गुनासो आएको छ । तोकिएको भन्दा बढी भाडा असुलेको पाइएमा हामी कार्वाही गर्छौ ।’
त्यस्तै, चाडपर्वको समयमा क्षमता भन्दा बढी यात्रु समेत चढाउदै आएको यात्रुहरुले गुनासो गुनासो गरेका छन् । उत्तरी धादिङमा चल्ने प्रायः सवारी साधनहरुमा जोखिमपूर्ण यात्रा गर्न यात्रुहरु बाध्य छन् । क्षमता भन्दा बढी यात्रु चढाउने, सवारी साधनको छतमा समेत यात्रा गर्ने, बोलेरो तथा ट्रक जस्ता सवारी साधनहरुमा समेत यात्रु बोक्ने समस्या विद्यमान बनेको छ ।
