धादिङ, १२—साउन
वाइसियल गजुरीको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी धादिङको प्राविधिक सहयोगमा गजुरी गाउँपालिका वडा नं. ७ स्थित सहिद शान्ति पार्कमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
समाजमा रगतको अभावलाई केही हदसम्म पुरा गर्ने उद्देश्यले आयोजित कार्यक्रममा एक महिला र ३२ पुरुष गरी जम्मा ३३ जना स्वयंसेवकले रक्तदान गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले रक्तदाता युवाहरूलाई प्रमाणपत्र प्रदान गर्दै यस्ता सामाजिक कार्यमा सबैको सक्रियता आवश्यक रहेको बताए । उनले स्थानीय तथा युवाको उत्साहजनक सहभागिताले कार्यक्रम थप सफल बनेको धारणा राखे ।
वाइसियल गजुरी गाउँ समितिका अध्यक्ष दिवाकर श्रेष्ठले युवाहरूलाई सामाजिक उत्तरदायित्वप्रति सचेत गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिए । कार्यक्रममा वाइसियल धादिङका जिल्ला इन्चार्ज सन्तोष अधिकारीले यस्ता कार्यक्रमले सकारात्मक सन्देश प्रवाह गर्ने हुँदा आगामी दिनमा समेत निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रमलाई सफल बनाउन स्थानीय युवा, स्वास्थ्यकर्मी तथा नेपाल रेडक्रस सोसाइटी धादिङ शाखाको विशेष सहयोग रहेको थियो ।
‘रक्तदान जीवनदान’ भन्ने नारालाई व्यवहारमा उतार्दै कार्यक्रमले उदाहरणीय भूमिका खेलेको वाइसियल गजुरीले जनाएको छ ।
