पशुपति आर्यघाटबाट अन्तिम संस्कारका लागि लगिएको शवबाट हड्डी निकालेर बेचिएको छ।
पशुपति आर्यघाटमा जलाउन लगिएको व्यक्तिको जल्दाजल्दै अवस्थामा खुट्टाको हड्डी निकालेर बिक्री भएको छ। शवबाट हड्डी निकालेर बेचेको आरोपमा प्रहरीले घाटे बाहुन गणेश ढकाललाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय काठमाडौँका सहायक प्रवक्ता कुलदिप चन्दका अनुसार बनेपा ८, काभ्रेका ६५ वर्षीय राम शाहीको मृत्यु पश्चात् गत शुक्रवार पशुपति आर्यघाटमा जलाउन ल्याइएको थियो। उनको शव जल्दाजल्दै ढकालले शवबाट खुट्टाको हड्डी निकालेको मृतकका आफन्तले देखेका थिए। ढकालले उनीसँगै रहेका सहयोगीलाई मृतकको शवबाट निकालेको हड्डी दिएका थिए। यसका लागि उनले पाँच सय रुपैयाँ लिएका थिए। पाँच सय लिएर मृतकको हड्डी बिक्री गरेको देखेपछि मृतकका मलामी तथा आफन्तले प्रहरीलाई खबर गरेका थिए।

प्रहरी वृत्त गौशालाबाट गएको प्रहरी टोलीले पशुपति आर्यघाटमा शव दहन गर्ने क्रममा शवबाट मांस पदार्थ र हड्डीको चोरी हुने गरेको अनौठो घटना सार्वजनिक भएसँगै अनुसन्धान थालेको छ।
