धादिङ, १–साउन
वाग्मती प्रदेशका निवर्तमान मुख्यमन्त्री सालिकराम जमकट्टेलले धादिङको धुनिवेसि नगरपालिका वडा नम्बर ५पुरानो धार्केमा निर्माण गरिएको सहिद तथा बेपत्ता स्मृति प्रतीक्षालयको उद्घाटन गरेका छन् ।


सशस्त्र द्वन्द्वकालीन सहिद तथा बेपत्ता व्यक्तिहरूको सम्झनामा निर्माण गरिएको उक्त स्मारकले इतिहास सम्झाउने तथा नयाँ पुस्तालाई प्रेरणा दिने उद्देश्य राखिएको प्रतीक्षालय तथा चौतारा निर्माण समितिका अध्यक्ष दिपक सुवालले जानकारी दिएका छन् । उद्घाटन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा वाग्मती प्रदेशका निवर्तमान मुख्यमन्त्री सालिकराम जमकट्टेलले गणतन्त्र तथा सङ्घीयता स्थापनाका लागि आफ्नो जीवनको बलिदान गर्ने सहिदहरू तथा बेपत्ता जनताको सम्झना र सम्मानको लागि यस्ता सार्वजनिक स्थानहरूले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । साथै सामाजिक न्याय, शान्ति र समावेशी विकासका लागि सहिदले देखाएको बाटोमा अगाडि बढ्नु अहिलेको आवश्यकता हो उनले थपे ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) धादिङका जिल्ला सचिव दिपक लामिछाने सुबोध, माओवादी केन्द्र धुनिवेसि नगरपालिका वडा नम्बर ५ का अध्यक्ष लक्ष्मण रेग्मी प्रकाश, सहिद राजकुमार बस्कोटाका दाजु तथा माओवादी केन्द्र बाग्मती प्रदेश सदस्य बाशुदेव बस्कोटा वाइसीएल नेपाल धादिङ का जिल्ला सचिव सन्तोष रेग्मी लगायत विभिन्न नेता, सहिद परिवारका सदस्यहरू, समाजसेवी तथा स्थानीय बासिन्दाहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रममा सहिद र बेपत्ताहरूको योगदानलाई उच्च सम्मान गर्दै, उनीहरूको सपना पूरा गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिइएको थियो ।
