धादिङ, १–साउन
गणित शिक्षा परिषद धादिङ, प्याब्सन धादिङ र नेशनल प्याब्सन धादिङको संयुक्त आयोजनामा एक दिने गणित शिक्षक क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न भएको छ।
गणित शिक्षा परिषद धादिङ तथा नेशनल प्याब्सन धादिङका अध्यक्ष प्रयास रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धादिङ जिल्लाका विभिन्न विद्यालयहरूबाट आएका ११३ जना माध्यमिक तहका गणित शिक्षकहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि तथा नीलकण्ठ नगरपालिकाका प्रमुख भिम प्रसाद ढुङ्गानाले गणित शिक्षा परिषदको यो प्रयास अत्यन्त सान्दर्भिक रहेको उल्लेख गर्दै यसले आगामी शैक्षिक सत्रमा गणितको नतिजामा उल्लेखनीय सुधार ल्याउने विश्वास व्यक्त गरे।
कार्यक्रममा विशिष्ट अतिथि तथा रूपमा काठमाडौँ विश्वविद्यालयका फ्याकल्टी तथा पाठ्यपुस्तक लेखक डि. आर. सिम्खडा, गणित शिक्षा परिषद धादिङका पूर्व जिल्ला अध्यक्ष बद्री प्रसाद कोइराला, पूर्व केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्ष धु्रव अधिकारी (प्रधानाध्यापक नीलकण्ठ बालमन्दिर मावि) तथा नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष नारायण कुमार श्रेष्ठ लगायत बिभिन्न पेशा तथा संस्थाका व्यक्तित्वको उपस्थिति रहेको थियो ।
कार्यक्रममा यस वर्ष एसईईमा ४.० जीपीए हासिल गरेका ८ जना विद्यार्थीहरूलाई प्रशंसा पत्र र नगद पुरस्कारद्वारा सम्मान गरिएको थियो। साथै सहभागी शिक्षकहरूलाई गणित शिक्षा परिषदको तर्फबाट टी–शर्ट वितरण गरिएको थियो।
कार्यशालाको गणित शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि गर्दै गणितलाई अझ सरल र प्रभावकारी रूपमा सिकाउने क्षमतालाई मजबुत बनाउनु मुख्य उद्देश्य रहेको छ ।
