नीलकण्ठ नगरपालिकाले सञ्चालन गरेको विभिन्न व्यावसायिक सीपमूलक तालिमहरूको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

धादिङ, १५–असार
नीलकण्ठ नगरपालिकाले सञ्चालन गरेको विभिन्न व्यावसायिक सीपमूलक तालिमहरूको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ। उपमेयर दिपक बिश्वकर्माको अध्यक्षता र मेयर भीम प्रसाद ढुंगानाको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी, वडा नं–८ का अध्यक्ष एवं नगर प्रवक्ता प्रकाश कुमार श्रेष्ठ, सामाजिक विकास संयोजक मञ्जु थापा मगर लगायतको उपस्थिति रहेको थियो।


समारोहलाई सम्बोधन गर्दै मेयर ढुंगानाले सीप सिकेर स्वदेशमै रोजगार सिर्जना गर्न सकिने उल्लेख गरे । विदेशिने प्रवृत्तिमा कमी ल्याउँदै बेरोजगारी न्यूनीकरणमा यस्ता तालिम प्रभावकारी हुने उनको भनाई थियो।


उप–प्रमुख बिश्वकर्माले श्रम बजारमा देखिएको बेरोजगारी र दक्ष जनशक्तिको अभावलाई यस्ता तालिमले सम्बोधन गर्न सक्ने बताए । सिकिएको सीपलाई स्वदेशमै प्रयोग गर्न र वैदेशिक रोजगारीमा समेत उपयोगी हुने गरी उपयोग गर्न उनले आग्रह गरे।


प्रमुख प्रशासकीय अधिकृत सुवेदीले तालिमको समापनलाई व्यवहारिक सुरुवातको रूपमा लिनुपर्नेमा जोड दिए। उनले सिकिएको सीपलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न आजैदेखि लाग्नुपर्ने आवश्यकता औंल्याए


कार्यक्रममा २० जनाले बारिस्ता तालिम, १५ जनाले कूक तालिम, २० जनाले हलुका सवारी चालक तालिम, २० जनाले वेटर तालिम तथा ४० जनाले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत डकर्मी तालिमको प्रमाणपत्र प्राप्त गरेका छन्।
नगरपालिकाका रोजगार संयोजक अर्जुन कुमार श्रेष्ठका अनुसार यसअघि पनि विभिन्न तालिमहरूमा ६५० जनाले सहभागिता जनाइसकेका छन्।

Related posts

Leave a Comment