नीलकण्ठ–९ का दलित युवाहरूलाई पञ्चेबाजा वितरण

धादिङ, ११–असार

दलित समुदायको सीप प्रवर्द्धन र आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यले नीलकण्ठ नगरपालिकाले वडा नं–९ का दलित युवाहरूलाई पञ्चेबाजा वितरण गरिएको छ।

नीलकण्ठ नगरपालिकाको विपन्न दलित सशक्तीकरण कार्यक्रम अन्तर्गत ज्येष्ठ २८ गते देखि असार ११ गते सम्म सञ्चालन भएको १५ दिने पञ्चेबाजा बजाउने तालिममा सहभागिता युवाहरूलाई तालिम पश्चात् बाजा वितरण गरिएको हो।

कार्यक्रमको प्रमुख अतिथि तथा नगर प्रमुख भीम प्रसाद ढुङ्गानाले  पञ्चेबाजा हस्तान्तरण गर्दै दलित युवाहरूको सीप र संस्कृति संरक्षणमा सहयोग पुर्‍याउने खालका कार्यक्रमहरूमा नगरपालिका सदैव अग्रसर रहने प्रतिबद्धता व्यक्त गरे।

सिप सिके पछि आत्मनिर्भर बन्ने तथा आफ्नो ठाउँको विकासमा बाँकी समय लगाउन सकिने कार्यक्रमका विशिष्ट अतिथि तथा जिल्ला समन्वय समिति उप–प्रमुख कुलमान विश्वकर्माले बताए । 

कार्यक्रममा बोल्दै कार्यक्रमका विशिष्ट अतिथि तथा नगरपालिका उप–प्रमुख दिपक विश्वकर्माले यस्ता सिपले आयआर्जन र मनोरञ्जनको गतिविधिले समाजमा नकारात्मकता हट्ने तथा रोजगारी पनि बढ्ने बताए । 

आफ्नो वडामा सबै युवालाई सिप युक्त रोजगार बनाउन आफूले अन्य गतिविधि समेत सञ्चालन गर्ने कार्यक्रमका अध्यक्ष एवम् वडा नं ९ का अध्यक्ष राजन बराइलीले बताए । 

बाजा प्राप्त गरेका युवाहरूले समूह गठन गरी विवाह, भोज, पूजापाठ, जात्रा तथा अन्य सांस्कृतिक कार्यक्रमहरूमा सेवा प्रदान गर्ने लक्ष्य लिएका छन्।

स्थानीय तहको यस्तो पहलले परम्परागत सीपको सम्मान, आर्थिक आयआर्जनको अवसर तथा सामाजिक समावेशीताको सन्देश दिने विश्वास लिइएको छ।

Related posts

Leave a Comment