धादिङ,बैशाख—१०
शिक्षक महासंघको दबाबपछि राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गरेको छ । आगामी बिहीबारबाट हुने परीक्षा अब वैशाख २१ गतेबाट हुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले बताउनुभयो ।
मंगलबार बिहान बसेको बोर्ड बैठकले कर्मचारी परिचालन गरेर तोकिएकै दिन परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो । उक्त निर्णयको चौतर्फी आलोचना भएको थियो । शिक्षक महासंघले परीक्षा बहिष्कारको निर्णय लिएको थियो ।
शिक्षामन्त्रीको समेत जिम्मेवारी सम्हाल्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले बोर्डलाई परीक्षा सार्न निर्देशन दिनुभएको थियो । बोर्डको निर्णयपछि अधिकारीहरू दिनभर छलफलमा थिए ।
बोर्डका अध्यक्ष शर्मासहितको टोली मंगलबार साँझ प्रधानमन्त्री केपी ओलीसँग छलफल गर्न बालुवाटार जानुभएको थियो । छलफलमा प्रधानमन्त्रीले केही दिन परीक्षा सार्न निर्देशन दिनुभएको हो ।
बिहानको बोर्ड बैठकले प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्लास्थित जिल्ला परीक्षा समन्वय समितिलाई जिम्मा दिएर कर्मचारी परिचालन गरी परीक्षा गर्ने निर्णय गरेको थियो ।
तर नेपाल शिक्षक महासंघले परीक्षा सञ्चालनमा सहभागी नहुन शिक्षक—कर्मचारीलाई आहवान गरेको थियो । चैत २० गतेबाट काठमाडौं केन्द्रित सडक प्रर्दशनमा रहेको महासंघले चैत २५ बाट शैक्षिक हड्ताल घोषणा गरेको छ ।
