धादिङ, चैत्र- २८
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ९ मा प्रगति समीक्षा विश्लेषण तथा पुनः योजना निर्माण बैठक सम्पन्न भएको छ ।
बिहीबार क्षयरोग मुक्त स्थानीय तह अभियान कार्यक्रम अन्तर्गत वडा स्तरीय समितिसँग गत आर्थिक वर्षमा निर्माण गरिएको सूक्ष्म योजनाको प्रगति समीक्षा विश्लेषण तथा पुनः योजना निर्माण बैठक सम्पन्न भएका हो ।
नीलकण्ठ नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष राजन बराइलीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नीलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै निवर्तमान वडा अध्यक्ष भोज बहादुर रेग्मी, नीलकण्ठ नगरपालिकाका शाखा अधिकृत लोकनाथ उपाध्याय लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा क्षयरोग न्यूनीकरण र रोकथामको लागि आवश्यक योजना बनाई निकट भविष्यमा यसलाई बढ्न नदिन खोप तथा रोग पहिचानको उपायहरू बारे छलफल गरिएको थियो । त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि विश्वकर्माले क्षयरोगको अवस्था विकराल रहेकोले स्थानीय सरकार प्रदेश सरकार र सङ्घीय सरकार तिनै तहबाट उचित कार्य योजना सहित अगाडि बढ्न सके यसलाई न्यूनीकरण गर्न सकिने बताउनुभयो ।
त्यस्तै वडा अध्यक्ष रेग्मीले क्षयरोगको तथ्याङ्क यकिन गरी स्थानीय सरकारले यस बारेमा योजना बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
