यति सस्तो, यति हल्का र यति उत्ताउलो नहुनुस् तपाईँहरु: प्रधानमन्त्री ओली

धादिङ,चैत्र-१३

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दलहरूलाई उत्ताउलो नहुन आग्रह गर्नूभएको छ ।

राष्ट्रिय युवा सङ्घ नेपालद्वारा बुधबार आयोजित राष्ट्रिय स्वयंसेवक भेला, २०८१ लाई सम्बोधन गर्दै नेकपा (एमाले) का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले विपक्षीलाई जथाभावी नबोल्न आग्रह गर्नुभयो।

उहाँले भन्नुभयो “यति सस्तो, यति हल्का र यति उत्ताउलो नहुनुस् तपाईँहरु। प्रधानमन्त्रीका सवालमा जथाभावी नबोल्नुस्। आखिर तपाईँहरु चिसै पानीले नुहाउनुपर्छ। हामी न मात्तिछौँ। न आत्तिन्छौँ। धैर्यपूवर्क अगाडि बढ्छौँ।”

प्रधानमन्त्री ओलीले सरकारले एउटा कर्मचारीलाई हटाउँदा केहीले छाति पिटिपिटी रोएको टिप्पणी गर्दै प्रधानमन्त्रीले जवाफ दिइरहनुनपर्ने बताउनु भयो। “प्रधानमन्त्रीले जवाफ दिइसक्यो। एउटा हटायो, अर्काे नियुक्ति गर्यो। सक्कियो। त्यही हो जवाफ। उहाँहरुलाई सहयोग हुने उहाँहरुले जो भन्यो त्यही नियुक्ति गर्ने हाम्रो काम होइन।”

यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री ओलीले संसद्मा आएर चित्तबुझ्दो स्पष्टीकरण नदिएसम्म संसद् चल्न नदिने बताउनु भएको थियो।

संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष दाहालले भन्नुभएको थियो, ‘प्रधानमन्त्रीले यसलाई सहज ढंगले लिनुपर्छ। उहाँ आएर स्पष्टीकरण दिनुपर्छ। चित्तबुझ्दो स्पष्टीकरण आयो भने हाउस तुरुन्तै चल्छ। तर, स्पष्टीकरण पनि जालझेलको आयो भने हाउस चल्दैन।’

प्रतिपक्षी दलहरूको निरन्तरको अवरोधपछि आज प्रतिनिधिसभा बैठक पनि बिहीबारसम्मका लागि स्थगित भएको थियो।

Related posts

Leave a Comment