धादिङ, चैत्र-१०
चितवनबाट यात्रु लिएर काठमाडौं आउँदै गरेको हाइस नागढुंगामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । ग १ ख ५५४६ नम्बरको हाइस चन्द्रागिरी नगरपालिका–२ नागाढुङ्गा ढलानमा आज अपरान्ह पाँच बजे दुर्घटनामा परेको हो। रोकिराखेको अवस्थामा गाडी गुडेर अनियन्त्रित भई सडक पेटीमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले बताउनु भयो ।
दुर्घटनामा घाइते भएकी २६ वर्षिय युवतीको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको पहिचान खुलेको छैन । त्यस्तै चितवन कालिका नगरपालिका– ७ घर भएकी ६८ वर्षीया तारादेबी कुमाल गम्भीर घाइते भएकी छिन्। उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
त्यस्तै, काठमाडौं– १५ की ३३ वर्षिया बिन्दु देवकोटा, उनका ३० महिनाका छोरा दिव्यन पोख्रेल, चितवन भरतपुर–६ की ४९ वर्षिया अनिता थापा, उनकी १७ वर्षिया छोरी एरिसा थापा, भरतपुर–४ का ३७ वर्षिय मोहित गुरुङ, कालिका–७ की २५ वर्षिया सीमा कुमाल, उनका ६ वर्षिय छोरा इसान कुमाल र सर्लाहीका कुसुम राई पनि घाइते भएका छन् ।
गाडी चालक नुवाकोट बेलकोटगढी घर भएका राजेश गुरुङलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको एसपी बोहराले बताउनु भयो । घाइतेमध्ये केही डिस्चार्ज भएको प्रहरीले जनाएको छ।
