काठमाडौं । ब्राजिलियन स्टार नेयमारले साउदी प्रो क्लब अल हिलालसँगको सम्झौता रद्ध गरेका छन् । क्लब र खेलाडीबीच सोमबार राति आपसी समझदारीमा सम्झौता रद्ध गरिएको जनाइएको छ ।
ब्राजिलका सर्वाधिक गोलकर्तासमेत रहेका ३२ वर्षीय नेयमार घुँडाको समस्या कारण अक्टोबर २०२३ देखि लगातार मैदानबाट बाहिर छन् । ‘क्लब र खेलाडीबीचको आपसी समझदारीमा सम्झौता रद्ध गरिएको छ,’ क्लबले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।
दुई वर्ष अल हिलाल रहँदा नेयमारले मात्र सात खेले खेलेका छन् । उनी पेरिस सेन्ट जर्मेन (पिएसजी)बाट ९० मिलियन युरोमा साउदी अरेबिया पुगेका थिए ।
उनले ब्राजिलबाट ७९ गोल गरिसकेका छन् । उनी अब बाल्यकालको क्लब सान्तोष फर्कने अनुमान छ । सन् २०१३ पछि बाल्यकालको क्लब सान्तोषबाट बार्सिलोनामा अनुबन्ध भएका थिए । सन् २०१७ मा २२२ मिलियन युरोपमा पिएसजी पुगेका थिए ।
