चैत्र १९, धादिङ
नेपाल पत्रकार महासंघ धादिङले पत्रकार हत्या तथा मिडिया आक्रमण विरुद्ध नेपाल सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
चैत्र १५ गते विभिन्न मिडिया हाउस तोडफोड,आगजनी तथा मिडियाकर्मी कुटपिटको सन्दर्भमा जिल्ला प्रशासन कार्यालय धादिङ मार्फत नेपाल सरकारलाई ध्यानाकर्षण पत्र दिइएको हो ।
काठमाडौं स्थित तिनकुनेमा एक पत्रकार सहित दुईजनाको ज्यान जाने गरि घटेको घटना तथा सोहि दिन विभिन्न मिडिया हाउस तोडफोड,आगजनी तथा मिडियाकर्मी कुटपिटको सन्दर्भमा जिल्ला प्रशासन कार्यालय धादिङ मार्फत नेपाल सरकारलाई ध्यानाकर्षण पत्र दिइएको हो । नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सिताराम अधिकारीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पुगेको संचारकर्मीहरुको टोलीले सो ध्यानाकर्षण पत्र बुझाउदै संघिय सरकारसंग उक्त पत्र पुर्याईदिन तथा न्यायका लागि पहल गरिदिन आग्रह गरिएको छ ।
धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेलाई दिइएको सो ध्यानाकर्षण पत्रमा भिडियो खिच्ने क्रममा पत्रकार सुरेश रजकको आगोमा जलेर ज्यान गएको, अन्नपुर्ण पोष्ट दैनिकको कार्यालय भवनको भुईतल्लामा आगो लगाउनुको साथै ढुंगामुढा गरि क्षति पुर्याएको, कान्तिपुर टेलिभिजनको भवनमा ढुंगामुढा गरि क्षति पुर्याएको, हिमालय टेलिभिजनको सवारी साधनमा तोडफोड गरि क्षति पुर्याएको, पत्रकार दिनेश गौतममाथि आक्रमण गरि खुट्टा भाचेको र फोटो पत्रकार निराज तामांगको क्यामेरा हराएकोमा ति घटनाहरुको निश्पक्ष छानविन र दोषीलाई कडा कार्यवाहीको मांग सहित सो ध्यानाकर्षण पत्र दिइएको हो ।
यता पत्रमै ज्यान गुमाएका पत्रकारको हत्या बारे गहिरो अनुसन्धान गरि हत्यामा संलग्नलाई फौजदारी अभियोगमा कार्यवाही गर्न तथा उनको परिवारलाई क्षतिपुर्ति दिन,संचारमाध्यम र संचारकर्मीमाथि आक्रमण गर्ने सवैलाई कानुनी कठघरामा ल्याउन तथा क्षति पुर्याइएका सन्चारगृह र संचारकर्मीलाई यथोचित क्षतिपुर्तिका साथै घाईते पत्रकारको उपचारको प्रबन्ध मिलाउन उल्लेख छ ।
विगतमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका घटनाहरुमा संलगनलाई तत्काल कानुनी कारवाही गर्न र भविष्यमा सञ्चारकर्मीको सुरक्षाको उचित प्रवन्ध मिलाउन समेत मांग गरिएको छ । एक साताभित्रै सम्बोधन हुन विश्वसनिय आधार निर्माण गर्न प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकालई ध्यानाकर्षण गराउदै मांग पुरा नभए देशव्यापी आन्दोलनमा उत्रन बाध्य हुने भनिएको छ ।
