आधारभूत कम्प्युटर तालिम समापन कार्यक्रम सम्पन्न

धादिङ, असार-२८

नीलकण्ठ नगरपालिका वडा नं. ८, रामकोट हटिया चौतारामा सञ्चालित आधारभूत कम्प्युटर तालिमको समापन कार्यक्रम सम्पन्न भएको छ। अनन्त आशा नेपालको आयोजनामा र अनन्त आशा इन्टरनेशनलको आर्थिक सहयोग तथा नीलकण्ठ नगरपालिका र वडा नं. ८ को समन्वयमा सञ्चालन गरिएको उक्त तालिममा ३५ जना सहभागी रहेका थिए। तालिम तीन महिना (९० दिन) सम्म सञ्चालन भएको थियो।

कार्यक्रमको अध्यक्षता वडा नं. ८ का अध्यक्ष प्रकाश कुमार श्रेष्ठले गरेका थिए । उनले तालिमबाट प्राप्त ज्ञान तथा सीपलाई भविष्यमा जीवनोपयोगी बनाउनेतर्फ ध्यान दिन सहभागीहरूलाई सुझाव दिए ।

कार्यक्रमका प्रमुख अतिथि नीलकण्ठ नगरपालिकाका प्रमुख भिम प्रसाद ढुंगानाले सीप सिकेर आत्मनिर्भर बन्ने बाटो खुलेको बताए। उनले विदेश जानेहरूले पनि सीप भएका व्यक्तिहरूको मूल्याङ्कन उच्च हुने र आम्दानी पनि राम्रो हुने स्पष्ट पारे ।

कार्यक्रमका विशिष्ट अतिथि जिल्ला अदालत धादिङका न्यायाधीश गोपाल बास्तोलाले विद्यालयमा प्राप्त शैक्षिक ज्ञानसँगै सीपले व्यवहारिक जीवनमा नयाँ अवसर सिर्जना गर्ने बताए ।

समापन कार्यक्रममा विभिन्न संघ–संस्था, विद्यालय, सहकारी संस्था तथा समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । सहभागीहरूले तालिमबाट कम्प्युटरसँग सम्बन्धित विभिन्न पक्षहरूमा नयाँ ज्ञान हासिल गरेको अनुभव साझा गर्दै खुसी व्यक्त गरेका थिए ।

अनन्त आशा नेपालले आगामी दिनमा पनि यस्तै सीपमूलक कार्यक्रमहरू सञ्चालन गर्दै युवाहरूलाई सशक्त बनाउने प्रतिबद्धता जनाएको छ ।

Related posts

Leave a Comment