नेकपा (माओवादी केन्द्र) नीलकण्ठले नगर प्रमुख समक्ष ध्यानाकर्षण-पत्र बुझायो

धादिङ, ३–असार
 नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) नीलकण्ठ नगर समितिले नीलकण्ठ नगरपालिकाको नगर शिक्षा ऐन र विभिन्न बुँदाहरूको संशोधन गर्ने माग राख्दै नगर प्रमुख समक्ष ध्यानाकर्षण-पत्र बुझाएको छ।

पार्टीका नीलकण्ठ नगर समिति अध्यक्ष अमृत तामाङ, माओवादी केन्द्र जिल्ला समन्वय समिति संयोजक मनराज भण्डारी, निवर्तमान नगर अध्यक्ष शम्भु कुमार श्रेष्ठ, नगर सचिव हरिकृष्ण लम्साल, वाईसियल जिल्ला अध्यक्ष राजन लम्साल (ज्वाला) अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष श्रीकृष्ण रिजाल, वाइसियल नगर समिति अध्यक्ष कृष्णकुमार श्रेष्ठ लगायतको प्रतिनिधि मण्डलले मङ्गलवार नगर प्रमुख भीम प्रसाद ढुङ्गानालाई नगर कार्यपालिकाको कार्यालयमा भेट गरी ध्यानाकर्षण पत्र बुझाएका हुन। पत्रमा नगरपालिका भित्रका आधारभूत सेवा, सडक, खानेपानी, सरसफाइ, स्वास्थ्य, शिक्षा र विकास निर्माणमा देखिएको ढिलासुस्ती र अनियमितता प्रति गम्भीर चासो व्यक्त गरिएको छ।

माओवादी नगर समितिले नगरप्रमुखसँग जनताको समस्या तुरुन्त समाधान गर्न, योजना पारदर्शी रूपमा कार्यान्वयन गर्न तथा सेवामा देखिएको ढिलाइ हटाउन आग्रह गरेको छ। साथै, जनप्रतिनिधिले विकास योजनामा दलगत स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्ने माग समेत राखिएको छ।

नगर प्रमुख ढुङ्गानाले प्रतिनिधि मण्डललाई जन गुनासोको गम्भीर रूपमा सम्बोधन गरिने आश्वासन दिएका थिए ।

Related posts

Leave a Comment