धादिङ ६ असार
नगरपालिकाको १७ औं नगरसभा सम्पन्न भएको छ । नगर प्रमुख भिम प्रसाद ढुङ्गानाको अध्यक्षतामा बसेको नगर सभामा आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तावित बजेट तथा कार्यक्रम प्रस्तुत गरिएको छ ।
उपप्रमुख दिपक विश्वकर्माले आगामी वर्षका लागि कुल रू. एक अर्ब बाइस करोड त्रियानब्बे लाख पाँच हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गर्नुभएको छ । उक्त बजेट नगरपालिकाको समग्र सामाजिक, भौतिक, आर्थिक र संस्थागत विकासलाई दृष्टिगत गरी तयार पारिएको बताइएको छ ।
उक्त नीति तथा कार्यक्रमले नगरको समृद्धि, सुशासन, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, महिला सशक्तिकरण, सामाजिक समावेशिता, पर्यटन प्रवद्र्धन, वातावरण संरक्षणलगायतका क्षेत्रहरूलाई समेटेको छ ।
प्रस्तुत निति तथा कार्यक्रममा शिक्षा क्षेत्रमा एक वडा एक नमूना विद्यालय’, विद्यालय समायोजन, गुणस्तरीय शिक्षा अडिट, र विपन्न विद्यार्थीका लागि पोशाक तथा छात्रवृत्तिको व्यवस्था गरिएको छ । स्वास्थ्य क्षेत्रमा हरेक वडामा एक स्वास्थ्य संस्था, मोवाइल स्वास्थ्य सेवा, टोल–टोलमा स्वास्थ्य परीक्षण, र विशेषज्ञ तथा टेलिमेडिसिन सेवा संचालन गरिने निति लिएको छ ।
कृषि तथा पशुपालनमा आत्मनिर्भरता, एक वडा एक उत्पादन, व्यवसायिक कृषि प्रवद्वधन, माटो परीक्षण र बजारिकरणमा विशेष ध्यान दिईने भएको छ ।
पूर्वाधार क्षेत्रमा सबै वडा केन्द्रसम्म कालोपत्रे सडक, स्वच्छ खानेपानी आपूर्ति, विद्युतीय नक्सापास प्रणाली, र नमूना बस्तीको योजना रहेको छ । रोजगारी र उद्यमशीलता स्वरोजगार, मेयर उद्यमशीलता कार्यक्रम, शिप तथा तालिम, र विना धितो ऋणको प्रावधानलाई निरन्तरता दिएको छ ।
पर्यटन प्रवद्र्धनमा भैरवी मन्दिर, रामकोट दरबार, नीलकण्ठेश्वर पार्क जस्ता गन्तव्यहरूको विकास र होमस्टे प्रवद्धन गर्ने कार्यक्रम रहेको छ ।
आगामी बर्षमा महिला, बालबालिका, जेष्ठ नागरिक, दलित, अपांगता भएका व्यक्तिहरूको अधिकार प्रवर्द्धनमा विशेष बजेटको व्यवस्था गरिएको छ।
नीलकण्ठ नगरपालिकाले नगर भित्र सञ्चालित सञ्चार माध्यमहरूसँग सहकार्य, पत्रकार पुरस्कार र सूचना प्रविधि नीति लागू गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
नगरप्रमुख ढुंगानाले यो नीति तथा कार्यक्रम केवल घोषणा मात्र नभई कार्यान्वयनको स्पष्ट खाका र संविधान प्रदत्त अधिकारको प्रयोग गर्दै नगर समृद्धिको दिशामा अग्रसर हुने अठोट रहेको बताउनुभयो ।
नगर उप–प्रमुख विश्वकर्माले नगरपालिकाको वर्तमान आवश्यकता, सामाजिक कल्याण र दीर्घकालिन सोचका साथ भरसक ठुला दिगो बिकासमा टेवा पुग्रे र नगरबासीहरुको जीवन स्तरमा सरोकार राख्ने प्रकृतिको योजनाहरु एवम् रोजगारी सृजना गर्न सक्ने योजनाहरुलाई प्राथमिकतामा राखी बजेट निर्माण गरेको बताउनु भयो ।
