धादिङ,जेष्ठ–२८
नेपालले नेदरल्यान्ड्सलाई १६ रनले पराजित गरेको छ। आइसीसी लिग २ अन्तर्गत स्कटल्यान्डमा मंगलबार भएको खेलमा नेपालले तेस्रो जित निकालेको हो।
डुन्डीमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा २३६ रन बनाएको थियो। तर, पेनाल्टीका कारण १० रन नेदरल्यान्ड्सलाई उपहार दिँदा पनि नेदरल्यान्ड्सले २२७ रन मात्र बनाउनुपर्ने थियो। तर, नेदरल्यान्ड्स ४९.२ ओभरमा २२० रन बनाउँदै अलआउट भयो।
नेदरल्यान्ड्सका लागि विस्ले वारेसीले सर्वाधिक ३६ रन बनाए। भने स्कर्ट एडवर्डले ३० रन जोडे । नेदरल्यान्डलाई सस्तैमा समेट्न सन्दीप लामिछाने र नन्दन यादवले ३–३ विकेट लिए भने ललित राजवंशीले २ तथा करण के.सी र कुशल भुर्तेलले १–१ विकेट हात पारे ।
त्यसअघि ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २३६ रन बनाएको थियो। नेपालका लागि आरिफ शेखले उत्कृष्ट पारी खेलेका थिए। आरिफले मिडल अर्डर सम्हाल्दै ८४ रनको उत्कृष्ट पारी खेले। उनले ८५ बलमा ७ चौका २ छक्का प्रहार गरे।

पावरप्लेमा नै दुवै ओपनरलाई गुमाउँदै नेपालले ३७ रन बनाएको थियो। तेस्रो विकेटको लागि कप्तान रोहित कुमार पौडेल र भीम सार्कीले ५१ रनको अर्धशतकीय साझेदारी गरे। दुवै ब्याटरले ३५–३५ रन बनाए। दीपेन्द्र सिंह ऐरीले १६ रन बनाए। बसिर अहमद र करण केसीले ११–११ रन बनाए। नेदरल्यान्ड्सका लागि पल भान मिकरानले सर्वाधिक ४ विकेट लिए। मिचेल लेभिटले ३ विकेट र आर्यन दत्तले १ विकेट लिए।
नेपालले पहिलो खेलमा स्कटल्यान्ड्समाथि १ विकेट र दोस्रो खेलमा नेदरल्यान्ड्सलाई ५ विकेटले पराजित गरेको थियो। तेस्रो खेलमा भने नेपाल स्कटल्यान्डसँग २ रनले पराजित भएको थियो। यससँगै नेपालले स्कटल्यान्ड सिरिजको ४ खेलमा ३ जितसहित यो सिरिजबाट ६ अङ्क जोडेको छ ।
