धादिङ, वैशाख– १२
वीरगन्जबाट सशस्त्र प्रहरीले करिब १० लाख रुपैयाँ मूल्यको औषधि बरामद गरेको छ। भारतबाट अटोमा अवैध रुपमा ल्याउँदै गरिएको ४८० डब्बा न्युट्रिक्योर क्याप्सुल वीरगन्ज महानगरपालिका-२४ रामगढवास्थित सडकबाट बरामद गरेको हो।
औषधिसहित ना २ स १०१७ नम्बरको अटोको चालक वीरगन्ज–२५ सिर्सियाका ३६ वर्षीय अमृत साह कानुलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र बहादुर सिंहले बताउनुभयो । साथै औषधि तस्करी गर्ने कार्यमा संलग्न भारतीय नम्बर प्लेटका २ वटा मोटरसाइकल पनि नियन्त्रणमा लिइएको सिंहले बताउनुभयो ।
बरामद औषधिको ९ लाख ६० हजार तथा अटो र मोटरसाइकलको ६ लाख गरेर कूल १५ लाख ६० हजार रुपैयाँ मूल्यांकन गरेर अटो चालक कानुसहितलाई आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक सिंहले बताउनुभयो ।
