ओपनर कुशल भुर्तेलको सानदार ब्याटिङसँगै नेपालले चार देशीय टी–२० सिरिजमा लगातार दोस्रो जित निकालेको छ।
बिहीबार बिहान सम्पन्न खेलमा नेपालले कुवेतलाई ६ विकेटले पराजित गरेको हो। नेपालले पहिलो खेलमा कतारलाई आठ विकेटले पराजित गरेको थियो।
योसँगै शीर्ष स्थानमा रहेको नेपालले चार अङ्क पुर्याएको छ। यो जितसँगै नेपालले फाइनलको सम्भावना उच्च बनाएको छ। अब नेपालले लिग चरणको अन्तिम खेल शनिवार घरेलु टोली हङकङसँग खेल्नेछ। कुवेतले प्रस्तुत गरेको १८६ रनको लक्ष्य नेपालले १८.५ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो।

कुशलले सर्वाधिक ८१ रन बनाए। ५० बल खेलेका उनले समान ६ चौका र छक्का प्रहार गरे। अर्का ओपनर आसिफ शेखले ३८ बलमा दुई चौका र चार छक्कासहित ५३ रन बनाए।
यी दुई ब्याटरबीच पहिलो विकेटका लागि १२७ रनको साझेदारी भएको थिए । १३.५ ओभरमा आसिफ मोहम्मद अस्लामको बलमा निमिष लाथिफबाट क्याच आउट भएसँगै उक्त साझेदारी टुङ्गिएको थियो।
कुशल मल्ल चार र दीपेन्द्रसिंह ऐरी ३१ रनमा आउट हुँदा कप्तान रोहितकुमार पौडेल चार र गुल्सनकुमार झा नौ रनमा अविजित रहे।

हङकङका यासिन पटेलले सर्वाधिक दुई विकेट लिए। चार ओभर बलिङ गरेका उनले १७ रन खर्चिए। मोहम्मद शफिक र अस्लामको नाममा समान एक विकेट रह्यो।
त्यसअघि मिसन रोड मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको कुवेतले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १८५ रनको योगफल तयार गरेको थियो।
नेपालका तीव्र गतिका बलर सोमपाल कामीले सर्वाधिक तीन विकेट लिए। चार ओभर बलिङ गरेका उनले ३६ रन खर्चिए। नन्दन यादवले दुई विकेट लिँदा कुशल भुर्तेल र ललितनारायण राजवंशीको नाममा समान एक विकेट रह्यो।
