नेपाल शिक्षक महासंघ सरकारसंग वार्तामा सहभागी हुन तयार भएको छ । सरकारले पठाएको वार्ता प्रस्तावपछि महासंघ बिहीबारको बैठकमा सहभागी हुने भएको हो ।
महासंघका एक पदाधिकारीका अनुसार वार्ता समिति गठन गर्ने, सहभागी हुने व्यक्तिको टुंगो लगाउनेलगायत विषयमा रणनीति बनाउन आन्तरिक बैठक जारी छ ।
आन्दोलन परिचालन समितिका संयोजक तथा महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले अहिले महासंघ गम्भीर छलफलमा रहेको जानकारी दिनुभयो ।
शिक्षा मन्त्रालयका एक अधिकारीले पनि शिक्षक महासंघले बिहीबार वार्तामा बस्ने जानकारी दिएको पुष्टि गरेका छन्। महासंघले चैत २० गतेदेखि काठमाडौंमा शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित चरणबद्ध आन्दोलन गर्दै आएको छ ।
बुधबार शिक्षकहरूले हात उठाएर सांकेतिक विरोध गरेका थिए भने यसअघि कालो मास्क लगाउने, दिउँसो बत्ती बाल्ने, सिटी फुक्नेजस्ता शैलीमा विरोध प्रदर्शन भएको थियो ।
