संघीय संसदका दुवै सदनको बैठक आज पनि बस्दै

धादिङ, चैत्र-१४

 संघीय संसदका दुवै सदनको बैठक आज पनि बस्दैछ् । 

नेपाल विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउनुको कारणबारे प्रधानमन्त्रीको जवाफ माग गर्दै विपक्षी दलले अवरोध गरेपछि बुधबारको प्रतिनिधि सभा बैठक आज बिहान ११ बस्ने गरी स्थगित गरिएको हो । 

विपक्षीको अवरोधकै कारण राष्ट्रिय सभाको बैठक पनि आज मध्यान्ह सवा १२ बजेका लागि आब्हान गरिएको छ । कुलमानलाई बर्खास्त गरेको बारेमा प्रधानमन्त्रीको जवाफ नआएसम्म संसद चल्न नदिने प्रतिपक्षको अडान छ ।  

आज प्रतिनिधिसभाको बैठकमा प्रश्नोत्तरको कार्यक्रम रहेको छ । अर्थ मन्त्रालय, गृह मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको छ । 

यस्तै, बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक, २०८० का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची रहेको छ । प्रधानमन्त्री के.पी.ओलीले लोक सेवा आयोगको ६५औँ वार्षिक प्रतिवेदन  पेस गर्ने कार्यसूची रहेको छ ।  

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । 

यस्तै, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले निकासी पैठारी नियमन विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । 

Related posts

Leave a Comment