धादिङ, चैत्र-१३
पश्चिम नवलपरासीको बर्दघाटमा स्कुलबस र यात्रुवाहक बस एक–आपसमा ठक्कर खाँदा २० जना घाइते भएका छन्। पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका २ र ४ को सिमानामा पर्ने चिसापानी सामुदायिक अस्पतालअगाडि भएको दुर्घटनामा १४ विद्यार्थी र ६ अन्य यात्रु घाइते भएको स्थानीयले बताएका छन् ।
नवलपरासी सुस्ता गाउँपालिकाका प्राविधिक वीरेन्द्र मण्डल चढेको बा.२ब ६५४९ नम्बरको मोटरसाइकलले अचानक सडक पार गरेपछि सुर्खेतबाट पोखरातर्फ जाँदै गरेको ग.२ख १५७४ नम्बरको बसले उक्त मोटरसाइकललाई ठक्कर दिएको थियो।
मोटरसाइकललाई ठक्कर दिएको उक्त यात्रुवाहक बस अनियन्त्रित भई सडकमा रोकेर विद्यार्थी चढाउँदै गरेको बर्दघाट नगरपालिका– १२ भुताहाको ग्लोबल एकेडेमीको लु.१ख ८७० नम्बरको बसलाई ठक्कर दिएको थियो । दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
