धादिङमा पनि मनाईयो विश्व उपभोक्ता दिवस

विश्व उपभोक्ता दिवस आज धादिङमा पनि मनाईएको छ ।

‘स्वच्छ र प्रतिस्पर्धी बजार उपभोक्ता हित संरक्षणको दिगो आधार’ भन्ने नारा सहित सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम गरि दिवस मनाईएको हो । उद्योग तथा वाणिज्य कार्यालय धादिङले कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा उपभोक्ताका आठ अधिकारहरु सुरक्षा, सूचित, छनोट, सुनुवाइ, उपभोक्ता शिक्षा, क्षतिपूर्ति, आधारभूत आवश्यकतामा पहुँच र स्वच्छ तथा स्वस्थ वातावरणको लगायतका अधिकारका विषयमा उद्योग बाणिज्य कार्यालय धादिङका प्रमुख चुडामणी पुरीले प्रस्तुती राख्नुभएको थियो ।

साथै उपभोक्ता हित विपरित कार्य गर्नेलाई सजायको व्यवस्था, नेपालमा उपभोक्ता हित संम्बन्धी भएका कार्य लगायतका विषयमा प्रमुख पुरीले जानाकारी गराउनुभएको थियो । साथै कार्यक्रममा सहभागीहरुले बजार अनुगमन प्रभावकारी नहुने गरेको, अनलाईन व्यवसायीहरुबाट उपभोक्ताहरु ठगीमा पर्ने गरेको, सार्वजनिक स्थानहरुमा दुर्गन्ध फैलाउने माछा लगायतका व्यापारीहरुलाई कारवाही हुन नसकेको लगायतका गुनासो गरेका थिए भने उपभोग्य वस्तुमा लेबलिङ गर्दा नेपालीमा सबैले बुझ्ने खालको हुनुपर्ने सुझाव सहित जिज्ञासा राखेका थिए ।

कार्यक्रममा उपभोक्ताहरु, उपभोक्ता अधिकारकर्मीहरु, व्यावसायी र सरकारी निकायका प्रतिनिधि सहभागि हरुको सहभागीता रहेको थियो । विश्व उपभोक्ता अधिकार दिवस वर्सेनि मार्च १५ तारिखका दिन मनाउने गरिन्छ ।

सन् १९६२ मार्च १५ का दिन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले प्रस्तुत गरेको सुरक्षा, सूचना, छनोट र सुनुवाइलाई उपभोक्ताका चार अधिकारका रूपमा घोषणा गरिएको सम्झनाम विश्वभर यो दिवस मनाइन्छ ।

Related posts

Leave a Comment