गजुरी गाउँपालिका-५, गलौदी खेलमैदानमा “तेस्रो धादिङ रैथाने खाना तथा कृषि पर्यटन व्यापार महोत्सव-२०८१” हुने भएको छ।
यहि चैत १४ गते देखि २४ गतेसम्म सञ्चालन हुने उक्त महोत्सव जिल्ला होटल संघ धादिङको आयोजनामा हुने छ भने महोत्सवको संरक्षक गजुरी गाउँपालिकाको कार्यालय रहनेछ।
गजुरी गाउँपालिका भित्रका विभिन्न संघसंस्था,आमा समुह, युवा क्लब, लगायतको उपस्थितमा झाकी र्याली सहित कार्यक्रम उद्घाटन गरिने कार्यक्रमका ब्यबस्थापक भरत बराकोटीले जानकारी दिनुभयो ।
महोत्सवमा रैथाने खानाका परिकारहरू, कृषि उत्पादन, घरेलु तथा हस्तकला प्रवर्द्धनका गतिविधिहरू, मनोरञ्जन पार्क, सस्तो बजार र खाना पकाउने प्रतियोगिता प्रमुख आकर्षण हुनेछन् । साथै,परम्परागत बाजा प्रदर्शन र नृत्य प्रतियोगिता समेत रहनेछ।
कार्यक्रम भब्य बनाउनका लागी गजुरी गाउँपालिका वरपर रहेका विभिन्न संघसंस्था, नेपाल रेडक्रस सोसाइटी गजुरी, प्राथमिक स्वास्थ्य केन्द्र गजुरी, सामुदायिक बिकास समाज, गजुरी युवा क्लब, युवा रेडक्रस सर्कल, आदर्श बहुमुखी क्याम्पस गजुरी, आमा समुहहरु, गजुरीबासी र वरपर रहेका पालिका तथा नगरपालिकाहरुलाई सहयोग गर्न समेत जिल्ला होटल संघ धादिङले अपिल गरेको छ।
महोत्सवमा गजुरी गाउँपालिकाको संस्कृति, कृषि, पर्यटन, र स्थानीय उत्पादन प्रवर्द्धन गर्ने उदेश्य सहित कृषि प्रर्दशनी पनि हुनेछ। सांस्कृतिक कार्यक्रममा स्थानीयदेखि राष्ट्रिय स्तरका ख्याति प्राप्त कलाकारहरूको बेजोड प्रस्तुति रहने ब्यबस्थापक बराकोटीले बताउनुभयो ।
