नेपालको दक्षिण क्षेत्रमा बसोवास गर्ने नागरिकहरुको समस्यालाई राष्ट्रिय मुद्दाका रुपमा स्थापित गराउने

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको दक्षिण क्षेत्रमा बसोवास गर्ने नागरिकहरुको समस्यालाई राष्ट्रिय मुद्दाका रुपमा स्थापित गराउने बताउनु भएको छ ।  

हुलाकी मार्ग केन्द्रित तराई मधेश जनजागरण अभियानका क्रममा सुनसरी पुगेका अध्यक्ष प्रचण्डले  बिहीबार बिहान बर्जु गाउँपालिकामा आयोजित भेटघाट कार्यक्रममा बोल्दै  अभियानले दक्षिण क्षेत्रमा बस्ने आम नागरिकहरुलाई समस्यालाई राष्ट्रिय मुद्दाको रुपमा स्थापित गर्ने बताउनु भएको हो ।

देशको सिमानाको सुरक्षा गरेर सदियौँदेखी बस्दै आएका  दक्षिण क्षेत्रका नागरिकहरुलाई राज्यले अझै पनि विभेद गर्दै आएकोले नै विकासमा पछाडि परिरहन बाध्य भएको भन्दै अध्यक्ष प्रचण्डले यो समस्यालाई राष्ट्रिय मुद्दा बनाएर संघर्षमार्फत स्थापित गराउन तराइ मधेश जागरण अभियान थालिएको पनि प्रस्ट पार्नुभयो ।

प्रचण्डले बर्जुबासीलाई सम्बाेधन गर्दै भने ‘वर्षौंदेखि भैरहेको विरुद्ध माओवादीले जागरण अभियानमार्फत संघर्षको झण्डा उठाएको हो यसले तपाई दक्षिण क्षेत्रमा बस्दै आउनुभएका बासिन्दाहरुको मुद्दालाई राष्ट्रिय रुपमा स्थापित गराएरै छाड्छ ।’    

झापादेखी मोरङ हुँदै दक्षिण क्षेत्र भएर सुनसरी आइपुग्दा आफुले जति दक्षिणतिर पुग्यो उति नै विभेद र अभाव धेरै पाएको अनुभवन गरेको भन्दै अध्यक्ष प्रचण्डले भौतिक पूर्वाधार निर्माण, कृषकका समस्या, सिमा सुरक्षा र शिक्षा र स्वास्थ्य आदि विकासका लागि राज्यको ध्यानाकर्षण गराउन माओवादी शसक्त्त रुपमा लागिपर्ने बताउनु भयो ।   

१२ फागुनमा झापाको केचनाकबलमा उद्घाटन गरेर अगाडि बढेको अध्यक्ष प्रचण्डसहितको तराई मधेश जनजागरण अभियान टोली बिहीबार दिनभरि सुनसरीका विभिन्न स्थानमा हुने भेटघाट र आमसभामा सक्रृय रहनेछ ।

Related posts

Leave a Comment