गणतन्त्र दिवसको अवसरमा प्रभातफेरी तथा मूल समारोह कार्यक्रम सम्पन्न

धादिङ १५ जेठ
धादिङबेसीमा गणतन्त्र स्थापना भएको गौरवपूर्ण दिनको सम्झनामा आज प्रभातफेरी तथा मूल समारोह कार्यक्रमका साथ गणतन्त्र दिवस मनाइयो ।

जिल्ला समन्वय समिति र गणतन्त्र दिवस २०८२ जिल्ला समारोह समितिको आयोजना तथा नीलकण्ठ नगरपालिकाको संयोजनमा  प्रभातफेरी तथा मूल समारोह कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमपछि सिटीहलमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा प्रमुख जिल्ला समन्वय समितिका प्रमुख नवराज अधिकारीको अध्यक्षता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले गणतन्त्रले आफुहरुलाई अधिकार मात्र नभई जिम्मेवारी पनि दिएको र अबको अभियान विकास, सुशासन र समावेशितालाई व्यवहारमा उतार्नु रहेको बताउनुभयो ।

यस्तै जिल्ला समन्वय समितिका प्रमुख नवराज अधिकारीले गणतन्त्रको मर्म जनताको सशक्त सहभागिता र स्थानीय तहको सुदृढिकरणमा आधारित रहेको त्यसलाई बलियो बनाउँदै लैजान सबैले भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य रामबहादुर भण्डारीले गणतन्त्र जनताको दशकौंको बलिदानीको परिणाम रहेको त्यसको रक्षा र विकासका लागि सबैलाई अझ जिम्मेवार बन्न आग्रह गर्नुभयो ।

नेकपा माओवादी केन्द्र धादिङका संयोजक मनराज भण्डारीले गणतन्त्रको उपलब्धिहरूलाई संस्थागत गर्नका लागि एकता, समर्पण र प्रतिबद्धता आवश्यक रहेको बताउनुभयो ।

त्यस्तै उपप्रमुख दिपक विश्वकर्माले स्थानीय सरकार जनताको नजिकको सरकार भएको जनताको अधिकार सुरक्षित गर्न र सेवाप्रवाह प्रभावकारी बनाउन आफुहरु निरन्तर लागिरहेका बताउनुभयो ।

कार्यक्रममा नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा पूर्व सांसद खेम लोहनी, नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य रामबहादुर भण्डारी, प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे, सिद्धलेक गाउँपालिका उपाध्यक्ष सबिता अर्याल, नेपाली काँग्रेसका जिल्ला सदस्य देवी कोइराला, नेकपा (एमाले) का जिल्ला सचिव राधिका सापकोटा, नेकपा (माओवादी केन्द्र) का जिल्ला अध्यक्ष मनराज भण्डारी, नेकपा (एस) का जिल्ला सदस्य शिवनिधि खनाल, गैसस महासंघका कार्यवहाक अध्यक्ष अधिवक्ता तोलाकुमारी पाठकलगायत वक्ताहरूले शुभकामना व्यक्त गर्दै गणतन्त्रको उपलब्धिबारे धारणा राख्नुभएको थियो।

कार्यक्रममा बिहानैदेखि विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू, विद्यार्थी, सुरक्षाकर्मी, राजनीतिक दलका प्रतिनिधि र सर्वसाधारणको उत्साहजनक उपस्थिति रहेको थियो ।

Related posts

Leave a Comment