धादिङ, वैशाख– १७
नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी पक्राउ पर्नु भएको छ । जनमत पार्टीसँग एकता घोषणा गर्न लागिएको कार्यक्रम स्थलबाटै उहाँलाई प्रहरीले पक्राउ गरेको नाउपाका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले जानकारि दिनुभयो।
चौधरी पाक्राउ पर्नुको स्पष्ट कारण खुलेको छैन। तर जनमत अध्यक्ष डा. सिके राउतका अनुसार उहाँलाई पुरानो फैसला कार्यान्वयनका लागि भन्दै प्रहरीले पक्राउ गरेकोहो। टिकापुर काण्डका प्रमुख आरोपी चौधरी राष्ट्रपतिबाट कैद मिनाहा पाएर २०८० जेठ १५ मा रिहा हुनुभएको थियो।
राउतले डिल्ली बजार जेल पठाएको खबरसमेत प्राप्त भएको सामाजिक संजालमार्फत उल्लेख गर्नुभएको छ। आज नै राउत नेतृत्वको जनमत र नाउपाबीच पार्टी एकता घोषणा गर्न कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा कार्यक्रम राखिएको थियो। दुवै दलका नेता–कार्यकर्ता कार्यक्रमस्थलमा उपस्थित थिए।
तर चौधरी पक्राउ परेसँगै एकताका लागि राखिएको कार्यक्रम स्थगित भएको छ। चौधरी पक्राउको घोर भर्त्सना गर्दै राउतले भन्नुभएको छ ‘आजको एकीकरण कार्यक्रम स्थगित गरिएको छ र सम्पूर्ण नेता कार्यकर्ताहरूलाई आ—आफ्नो घर जान आग्रह गरिएको छ। बैठक बसेर अर्को सूचना हामी शीघ्र दिनेछौं।’
