धादिङ ५ बैशाख
उत्तरी धादिङको गंगाजमुना गाउँपालिकामा पालिकाको निर्वाचित महिला जनप्रतिनिधीहरुको लागि उद्धघोषण सम्बन्धी ३ दिवसीय क्षमता विकास तालिम सुरु भएको छ ।
शुक्रबार सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेडद्धारा सञ्चालित सामुदायिक रेडियो रेडियो बिहानी ९७.६ मेगाहर्जको आयोजना र गंगाजमुना गाउँपालिका धादिङको आर्थिक सहयोगमा उक्त तालिम सुरु भएको हो ।
गाउँपालिका उपाध्यक्ष रामेश्वर सिंखडाको अध्यक्षतामा सम्पन्न गरिएको उद्धघाटन कार्यक्रममा संविधान सभा सदस्य एवम् सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेडका पुर्व अध्यक्ष पुष्प विक्रम मल्लको प्रमुख आतिथ्यता रहेको थियो ।
त्यस्तै गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत सञ्जय बहादुर स्याङतान, गाउँपालिकाको प्रवक्ता एवम् वडा नम्बर ५ को वडा अध्यक्ष कुमार बहादुर अधिकारी लगायत शाखागत प्रमुखहरुको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्नु हुँदै प्रमुख अतिथि पुष्पविक्रम मल्लले अबको महिला नेतृत्व सबल र सक्षम हुनुपर्नेमा जोड दिँदै स्थानीय तहमा संविधानले सुनिश्चित गरेको महिलाको सहभागितालाई स्वयं महिलाले पनि सक्षम हुँदै आफूलाई प्रमाणित गर्नुपर्ने बताउनुभयो । उहाँले महिला जनप्रतिनिधिहरु वडा सदस्यमा मात्र सीमित नभएर स्थानीय, प्रदेश तथा केन्द्रको शासन सत्ता सञ्चालनमा आफ्नो क्षमता विकास गर्दै अगाडी बढ्नुपर्ने बताउनुभयो । प्रमुख अतिथि मल्लले रेडियो बिहानीले सूचना र सञ्चारको क्षेत्रमा उल्लेखनीय योगदान दिईरहेको अवस्थामा स्थानीय सरकारसंग समन्वय गर्दै सामाजिक कार्यहरु समेत गर्दै आएको खुसी व्यक्त गर्नुभयो ।
साथै गंगाजमुना गाउँपालिकाले सामुदायिक रेडियोसंग सहकार्य गर्दै विभिन्न कार्यक्रमहरु सञ्चालन गरेकोमा गाउँपालिकालाई धन्यवाद समेत व्यक्त गर्नुभयो । कार्यक्रमका सभापति गाउँपालिका उपाध्यक्ष रामेश्वर सिंखडाले महिला जनप्रतिनिधीहरुलाई दिएको भाषण कला सम्बन्धि क्षमता विकास तालिमले विकास तथा नितिगत कार्यहरुमा महिलाको सकारात्मक सहभागिता बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
यस्ता तालिमले दूरदराजमा रहेका महिला जनप्रतिनिधीहरूको बोल्ने सीप र कलामा थप योगदान पुग्ने र महिलाहरूको पनि नेतृत्व विकासमा थप सकारात्मक सहभागिता बढ्ने उल्लेख गर्दै ३ दिवसिय तालिममा सक्रिय सहभागिताको लागि आग्रह गर्नुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सञ्जय बहादुर स्याङतानले महिला सहभागिता नै देश विकासको लागि आवश्यक रहेकोले स्थानीय तह सरकारले महिला क्षमता विकासका लागि आवश्यक लगानी गर्नुपर्ने बताउनुभयो । जनप्रतिनिधीहरुमा भएका आन्तरिक कुराहरुलाई बाहिर प्रस्फुटन गर्न यस्ता तालिमले महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो । उहाँले आगमी आर्थिक वर्षमा पालिकाले यस्ता कार्यक्रमहरुको लागि थप बजेटको व्यवस्था गर्ने बताउनुभयो ।
त्यस्तै गाउँपालिकाको प्रवक्ता एवम् वडा नम्बर ५का वडा अध्यक्ष कुमार बहादुर अधिकारीले जनप्रतिनिधी नै सक्षम भए समाज विकासका लागि सकारात्मक आयामहरु थपिने बताउनुभयो । उहाँले गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालन भएको उक्त तालिमले धादिङको १३ वटा स्थानीय तहलाई समेत सन्देश जाने बताउनुभयो ।
सामुदायिक रेडियो रेडियो बिहानी ९७.६ मेगाहर्जले २०६६ साल मंसिर १२ गते बाट ५०० वाट क्षमतामा दैनिक १७ घण्टा प्रशारण गरि समूदाय केन्द्रित सूचना समाचार विज्ञापन तथा सचेतामूलक,मनोरञ्जनात्मक कार्यक्रमका साथै गीतसंगीत,शिक्षा,स्वास्थ्य, स्थानीय सरोकारका विषयवस्तु तथा सामाजिक सुरक्षा जागरण जस्ताका सवालहरुमा रेडियो कार्यक्रम सञ्चालन गर्दै आम जनसमूदायलाई सूसुचित गर्दै आएको छ ।
९७.६ मेगाहर्ज ध्वनी तरङगसंगै अफिसियल फेसबुकपेज अनलाईन प्रसारणका साथै हाम्रो पात्रो मोबाईल एप्लिकेशनमार्फत संसारभर एकैसाथ प्रत्यक्ष सुन्न सकिन्छ ।
