नेपाल विद्युत् प्राधिकरणमा प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई बर्खास्तीको पत्र दर्ता भएको छ ।
मन्त्रिपरिषद्को निर्णयअनुसार घिसिङलाई पदमुक्त गरिएको पत्र आज साँझ प्राधिकरणमा दर्ता भएको स्रोतले जानकारी दिएको छ । सो पत्र मंगलबार नै इमेलमार्फत घिसिङलाई पठाइने पनि मन्त्रालय स्रोतले बतायो ।
मन्त्रिपरिषद्ले सोमबार घिसिङलाई पदमुक्त गर्ने निर्णय गरेको थियो ।
समयमा कार्यसम्पादन मूल्यांकन नगराएका कारण कार्यसम्पादनमा शून्य अंक प्राप्त गरेको, नेपाल सरकार तथा प्राधिकरण सञ्चालक समितिको स्वीकृतिबेगर भारतसँग बिजुलीको भाउ बढाउने सम्झौता गरेको तथा नेपाल सरकारको निर्देशन अवज्ञा गरेको आरोपमा सरकारले उनलाई पदमुक्त गरेको हो ।
त्यसअघि सरकारले उनलाई सफाइको मौका दिएको थियो । लामो समयदेखि सरकारसँग विवाद गरिरहेका घिसिङलाई त्यसअघि ऊर्जा मन्त्रालयले पनि पटक पटक स्पष्टीकरण सोधेको थियो ।
नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदभार ग्रहण गरिसकेका छन् ।
