धादिङ, माघ–३
वासुदेव लंसालद्वारा लिखित ‘शिक्षा र समताका सारथीः पण्डित विष्णुदत्त उपाध्याय लंसाल’ शीर्षकको पुस्तकको विमोचन तथा विमर्श कार्यक्रम आज पशुपति मन्दिर परिसरमा सम्पन्न भएको छ। कार्यक्रम सेसकुमारी लंसालको अध्यक्षतामा सम्पन्न भएको हो।
उक्त कृति वि.सं. १९६८ मा जन्मिएका पण्डित विष्णुदत्तको अभावपूर्ण बाल्यकालदेखि गुरुकुलीय शिक्षा, तीनधारा संस्कृत पाठशालामा अध्ययन र विद्वान् गुरुका रूपमा स्थापित हुने यात्रालाई समेटेको छ। उनले आफ्नो जीवनका ३६ वर्ष शिक्षा सेवामा समर्पण गर्दै धादिङका विकट क्षेत्र खनियावास, बेनीघाट, गजुरी, सामरीभञ्ज्याङ लगायत स्थानमा पैदल हिँडेर शिक्षाको उज्यालो फैलाएको विवरण पुस्तकमा उल्लेख गरिएको छ।
कार्यक्रममा प्रमुख अतिथि ९५ वर्षिय जेष्ठ नागरिक मेघराज धिमिरेले पण्डित विष्णुदत्तले आत्मसात् गरेको “ज्ञानात् ऋते न मुक्ति” (ज्ञान बिना मुक्ति सम्भव छैन) भन्ने जीवन दर्शन र जातीय विभेद तथा छुवाछूतविरुद्ध राखेको प्रगतिशील सोचको चर्चा गरे। “छुवाछूत मसीले होइन, मनले धुने हो” भन्ने उनका विचार आज पनि उत्तिकै सान्दर्भिक रहेको बताए।
पुस्तकमा तीन पुस्ताबीचको संस्कार र शैक्षिक योगदानको निरन्तरता पनि उजागर गरिएको छ। विष्णुदत्तका छोरा वासुदेव लंसालले नीलकण्ठ माध्यमिक विद्यालय स्थापनामा खेलेको भूमिकालाई विशेष रूपमा स्मरण गरिएको छ।
प्रमुख अतिथि मेघरज घिमिरेले यस्तो कृति केवल एक व्यक्तिको जीवनी मात्र नभई तत्कालीन धादिङको सामाजिक, शैक्षिक र प्रशासनिक अवस्थाको ऐतिहासिक दस्तावेजसमेत भएको बताए। सभाध्यक्ष सेसकुमारी लंसालले पण्डित विष्णुदत्तको जीवन र योगदानले समाजलाई आज पनि प्रेरणा दिइरहेको उल्लेख गर्दै यस्ता कृतिहरूले भावी पुस्तामा नैतिकता, समता र शिक्षाप्रतिको चेतना बढाउने विश्वास व्यक्त गरिन्।
