फ्रान्समा “ब्लक एभ्रिथिङ” आन्दोलन तीव्र : सडकदेखि रेल सेवासम्म प्रभावित

धादिङ २९-भदौ,

फ्रान्स सरकारले ल्याएको कठोर बजेट र सार्वजनिक खर्च कटौतीविरुद्ध सुरु भएको “ब्लक एभ्रिथिङ” (Bloquons tout) आन्दोलन तीव्र बनेको छ। आन्दोलनका कारण राजधानी पेरिससहित प्रमुख सहरहरूमा दैनिक जीवन प्रभावित भएको छ। सरकारले प्रस्तुत गरेको नयाँ बजेटमा स्वास्थ्य, सामाजिक सुरक्षा र सार्वजनिक सेवामा खर्च कटौती गर्ने योजना, साथै दुई राष्ट्रिय बिदा खारेज गर्ने प्रस्ताव समावेश छ। यी नीतिहरूविरुद्ध श्रमिक संगठन, ट्रेड युनियन र सर्वसाधारण सडकमा उत्रिएका छन्।

पेरिसमा प्रदर्शनकारीहरूले सडक अवरुद्ध गर्दै टायर बाल्ने गरेका छन्। रेल र सार्वजनिक यातायात सेवा ठप्प हुँदा यात्रुहरूलाई कठिनाइ भएको छ। एयरपोर्टहरूमा पनि सेवामा ढिलाइ भएको छ। सरकारले आन्दोलन नियन्त्रणका लागि करिब ८०,००० प्रहरी र सुरक्षाकर्मी परिचालन गरेको छ भने अहिलेसम्म ३०० भन्दा बढी प्रदर्शनकारी पक्राउ परेका छन्।

नयाँ प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले पदभार ग्रहण गरेलगत्तै आन्दोलन चर्किँदा उनको पहिलो चुनौती आन्दोलनलाई शान्त पार्ने देखिएको छ। राजनीतिक अस्थिरताबीच जनतासँग संवाद गर्ने दबाब उनमाथि बढेको छ। आन्दोलनकारीहरूले सेप्टेम्बर १८ मा अझ ठूलो विरोध प्रदर्शन गर्ने घोषणा गरेका छन्। यसले फ्रान्सको राजनीतिक वातावरण अझै तनावपूर्ण हुने संकेत गरेको छ।

Related posts

Leave a Comment