धादिङ १५ जेष्ठ
१८ औं गणतन्त्र दिवसको अवसरमा नीलकण्ठ–१२ स्थित पशुपति माध्यमिक विद्यालयमा हस्तलेखन प्रतियोगिता सम्पन्न भएको छ ।
नीलकण्ठ नगरपालिका र नगर स्तरीय बाल सञ्जालको संयुक्त आयोजनामा आधारभूत तह (कक्षा १ देखि ५) का विद्यार्थीहरूबीच हस्तलेखन प्रतियोगिता सम्पन्न गरिएको हो ।
प्रतियोगितामा कक्षा १ देखी ३ सम्म अंग्रेजी तर्फ पण्डित चौर आधारभुत विद्यालयका दिल बहादुर तामाङले प्रथम स्थान हासिल गर्न सफल भए भने पञ्चकन्या माध्यमिक विद्यालयका डोल्मा गुरुङ दित्तिय र युकिता गुरुङ तृतिय हुन सफल भए । त्यस्तै कक्षा ४ र ५ काके नेपाली हस्तलेखन प्रतियोगितामा पञ्चकन्या माध्यमिक विद्यालयकी संचिता गुरुङले प्रथम स्थान हासिल गर्न सफल भईन् भने पशुपति माध्यमिक विद्यालयकी रोशनी तामाङले दित्तिय र पञ्चकन्या माध्यमिक विद्यालयकी करिष्मा आचार्यले तृत्तिय स्थान हासिल गर्न सफल भएक थिईन् ।

नगर स्तरीय बाल सञ्जालकी अध्यक्ष तानिया परियारको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नीलकण्ठ नगरपालिकाका उप–प्रमुख दिपक विश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो ।
त्यसैगरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी, कार्यपालिका सदस्य, नीलकण्ठ प्रज्ञा प्रतिष्ठानका सचिव प्रकाश पौडेल, विभिन्न विद्यालयका प्रधानाध्यापकहरू, शिक्षक/शिक्षिकाहरू, विद्यार्थी तथा अभिभावकहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि उप–प्रमुख दिपक विश्वकर्माले हस्तलेखन प्रतियोगिता जस्ता सिर्जनात्मक गतिविधिले बालबालिकामा अध्ययनप्रतिको अभिरुचि र लेखन संस्कृतिको विकास गर्ने बताउनुभयो । उहाँले भविष्यमा अन्य शैक्षिक र सिर्जनात्मक कार्यक्रमहरूलाई समेत निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो । उहाँले गणतन्त्र दिवसको ऐतिहासिक पृष्ठभूमि, यसको महत्व, र यसले ल्याएको सामाजिक–राजनीतिक परिवर्तनको प्रसङ्गमा बालबालिकालाई स्पष्ट पार्नुभयो ।
कार्यक्रमको समापनमा सहभागी विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
