धादिङ, वैशाख– १७
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले रूस–युक्रेन युद्ध अन्त्य गर्न ठोस प्रस्ताव नआए अमेरिका मध्यस्थता प्रक्रियाबाट पछि हट्ने चेतावनी दिनु भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शान्ति वार्ता प्राथमिकतामा राखे पनि प्रगति नदेखिएको भन्दै धैर्य सकिँदै गएको संकेत गर्नु भएको छ ।
ट्रम्पले पुटिन शान्ति चाहन्छन् भन्ने संकेत दिए पनि रुसले तीन दिने युद्धविराम मात्रै प्रस्ताव गरेको छ, भने युक्रेन–समर्थित ३० दिनको युद्धविराम अस्वीकार गरेको छ । अमेरिका भने दीर्घकालीन र स्थायी शान्ति चाहन्छ ।
कूटनीतिक दबाबस्वरूप अमेरिकाले तयार पारेको प्रारूप युक्रेनका लागि अस्वीकार्य लाग्न सक्छ । ट्रम्पले सन् २०१४ मा रुसद्वारा अधिग्रहित क्रिमियालाई मान्यता दिनुपर्ने कुरा उठाएपछि अहिले विवाद बढेको छ ।
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले पुटिनलाई पुरस्कार नदिई निष्पक्ष शान्ति चाहेको बताउनु भएको छ । यता रुसले जेलेन्स्कीमाथि वार्ता अस्वीकार गरेको आरोप लगाएको छ ।
डेमोक्रेट सिनेटर जीन शाहिनले ट्रम्प प्रशासनले वार्ता गलत तरिकाले व्यवस्थापन गरेको भन्दै आलोचना गरेका छन् । युद्धको चपेटामा परेका केही युक्रेनी गाउँहरू खाली गरिएका छन् भने किएभमा भर्खरै भएको क्षेप्यास्त्र आक्रमणले स्थिति झनै संवेदनशील बनाएको छ ।
