पूर्व राजा शाहद्वारा तीनकुने घटनाप्रति दुख व्यक्त

धादिङ, वैशाख-१

पूर्व राजा ज्ञानेन्द्र शाहले गत चैत १५ गते कोटेश्वर र तीनकुने क्षेत्रमा भएको हत्या, आगजनी, तोडफोडलगायतका हिंसाजन्य घटनाप्रति दुःख व्यक्त गर्नु भएको छ । राजावादी समूहले गरेको प्रदर्शनले हिंसात्मक रूप लिँदा भएको घटनामा पत्रकारसहित दुई जनाको ज्यान जानुका साथै निजी तथा सरकारी भवनमा आगजनी भएको थियो ।

उक्त हिंसात्मक घटनाबारे चौतर्फी आलोचना भए पनि उहाँकै नाम जोडेर आयोजित प्रदर्शनमा पूर्व राजा ज्ञानेन्द्र मौन बस्दै आउनुभएको थियो । उहाँलाई गिरफ्तार गरी कानुनी कठघरामा उभ्याइनुपर्ने सम्मका माग भइरहेको वेला आइतबार नयाँ वर्षको शुभकामना सन्देशसँगै घटनाप्रति दुःख व्यक्त गर्नुभएको हो । ‘केही दिनअघि जनप्रदर्शनमा जुन प्रकारको हिंसा, आगजनी, तोडफोड भयो, त्यसबाट जस प्रकारको मानवीय एवं भौतिक क्षति भयो, त्यो सुन्दा हामीलाई अत्यन्तै दुःख लाग्यो,’ शुभकामना सन्देशमा पूर्व राजा ज्ञानेन्द्रले भनेका छन्, ‘समाजका विभिन्न दल, वर्ग र जनसमुदायले आफ्ना धारणा, आस्था तथा अभिव्यक्ति राख्न पाउनु प्रजातन्त्रको सुन्दर विशेषता हो । तर, त्यस्तो धारणा र मान्यता प्रस्तुत गर्दा सबैले संयम अपनाउनु पर्छ ।’

नागरिक स्वतन्त्रताभन्दा ठुलो तन्त्र वा वाद नहुने भन्दै शाहले वास्तविक प्रजातन्त्रमा राम्रो–नराम्रो, गुनासो–गुणगान सुन्ने परम्परा र संस्कार हुनुपर्ने उल्लेख गर्नुभएको छ  । विश्वकै उत्कृष्ट भूमिमा बाँच्नै गाह्रो हुने स्थिति पैदा भएको दाबी गर्दै उहाँले समग्र संरचना नै हेरफेर गर्नुपर्ने पनि बताउनु भएको हो । ‘जनभावना र चाहना बुझी मुलुकको समग्र संरचनामा नै हेरफेर र सुधारका कदम चाल्नुपर्ने तथ्य स्पष्ट देखिन्छ । शिक्षा, स्वास्थ्य र दैनिक कामकाजका पद्धति र प्रणालीहरूमा आमूल परिवर्तन र सुधार गरी यिनको आधुनिकीकरण अनिवार्य भइसकेको छ,’ उहाँले भन्नुभएको छ ।

संवाद, सहमति र सहकार्यबाट समस्याको समाधान गर्नुपर्ने भन्दै शाहले थप्नुभएको छ,  ‘संसार धेरै अघि बढिसक्यो, तर हामी यो वा त्यो वादको चक्रव्यूहमा फसेका छौँ । नेपाल आमालाई केन्द्रमा राखेर हाम्रा विचार बन्नुपर्छ, हाम्रा कदम चल्नुपर्छ । हरेक समस्याको समाधान संवाद, सहमति, समन्वय र सहकार्यबाट हुन सक्छ ।’

Related posts

Leave a Comment