धादिङ, वैशाख-१
काठमाडौंमा जारी आईसीसी यू–१९ विश्वकप एसिया छनोट अन्तर्गत दोस्रो खेलमा आज नेपालले ओमानसँग खेल्दै छ ।
खेल बिहान साढे ९ बजेदेखि माथिल्लो मुलपानी क्रिकेट मैदानमा शुरु हुनेछ । नेपालले पहिलो खेलमा आइतबार यूएईमाथि डिएलएस पद्दति अनुसार ५ रनको जित निकाल्दै विजयी सुरुवात गरेको थियो ।
ओमानले भने आईतबार नै भएको खेलमा अफगानिस्तानसँग ८ विकेटको फराकिलो हार बेहोरेको थियो । आजै तल्लो मुलपानी मैदानमा अफगानिस्तानले हङकङसँग खेल्ने तालिका छ ।
नेपाल, अफगानिस्तान, यूएई, ओमान र हङकङ सहभागी यस छनोटबाट शीर्ष हुने टोली आगामी वर्ष जिम्बावे र नामिबियामा हुने यू–१९ विश्वकपमा छनोट हुने छन् ।
नेपालले गत वर्ष दक्षिण अफ्रिकामा भएको विश्वकप खेलेको थियो भने नेपालले अहिलेसम्म आठ पटक युवा विश्वकप खेलिसकेको छ ।
