आगामी दिनमा खेल क्षेत्रलाई अझ फराकिलो र समावेशी बनाउनु पर्छ : उप—प्रमुख दिपक विश्वकर्मा

धादिङ,चैत्र ३१

नेपाल र नेपालीलाई केवल खेलकुदले चिनाउन सक्छ । प्रतिकुल मौसमका बाबजुद पनि आफ्नो खेल कौसल प्रस्तुत गर्न सकेकोमा हार्दिक बधाई दिँदै नीलकण्ठ नगरपालिकाका उप—प्रमुख दिपक विश्वकर्माले नयाँ वर्ष २०८२को शुभकामना समेत व्यक्त गर्नुभएको छ । धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर २ स्थित चिसापानीमा प्रथम चिसापानी कप यु १७ नकआउट फुटबल प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्नुहुँदै कार्यक्रमका प्रमुख अतिथि विश्वकर्माले आगामी दिनमा खेल क्षेत्रलाई अझ फराकिलो र समावेशी बनाउनु पर्नेमा जोड दिनु भयो । 

तस्विरः गणेश संवाददाता

कार्यक्रमका अध्यक्ष तथा गणेश कुण्ड मैत्री युवा समाजका अध्यक्ष द्वारिका दाहालले प्रतियोगिता शान्त र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै आगामी दिनहरूमा पनि यस्ता प्रतियोगिता गर्ने बताउनु भयो । 

गणेश कुण्ड मैत्री युवा समाजको आयोजनामा सम्पन्न भएको उक्त प्रतियोगितामा बागेश्वरी युवा क्लब प्रथम भएको छ । आइतबार सम्पन्न फाइनल खेलमा बागेश्वरी युवा क्लब ले नुवाकोटको सयपत्री युवा क्लबलाई टाई ब्रेकरमा ५—४ गोल अन्तरले हराएको हो । उक्त खेल वर्षाका कारण करिब २ घण्टा ढिलो गरी सुरु भएको थियो । 

तस्विरः गणेश संवाददाता

प्रथम भएको बागेश्वरी युवा क्लवले नगद रु १५ हजार, मेडल, प्रमाण पत्र र ट्रफि प्राप्त गरेको छ भने दोस्रो भएको सयपत्री युवा क्लबले नगद रु ७ हजार मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । 

प्रतियोगितामा जिल्लाका १० र नुवाकोटको एक गरी कुल ११ टोलिको सहभागिता रहेको थियो ।   

Related posts

Leave a Comment