धादिङ, २५-चैत्र
राष्ट्रिय प्रजातन्त्र पार्टीले चैत २६ गते भोलिको सभा बल्खुमा गर्ने भएको छ।
राप्रपाले सभाका लागि भृकुटीमण्डप रोजे पनि जिल्ला प्रशासन कार्यालय काठमाडौँले बल्खुमा सभा गर्न अनुमति दिएको हो। जिल्ला सुरक्षा समितिको बैठकले भृकुटीमण्डपमा सभा नगरी बल्खु वा सिफल चौरमा गर्न अनुमति दिने निर्णय गरेपछि यसबारे काठमाडौँ प्रशासनले राप्रपालाई जानकारी गराएको थियो। बल्खु र सिफल चौर मध्धे राप्रपाले बल्खु रोजेको हो।
उक्त सभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलगायतले सम्बोधन गर्ने कार्यक्रम तय भएको राप्रपाले जानकारी दिएको छ।
राजसंस्था स्थापनाका लागि स्थापित जनआन्दोलन परिचालन कमिटीले पनि राप्रपाको सभाप्रति ऐक्यबद्धता जनाएको छ।
राप्रपाले भोलिको सभाको तयारीका लागि आज अपराह्न चार बजे कार्यसम्पादन समितिको बैठक बोलाएको थियो ।
संवैधानिक राजतन्त्र र हिन्दु राज्य पुनर्स्थापनाका लागि दबाब दिने उद्देश्यले राप्रपाले मंगलबार काठमाडौंमा जुलुससहित सभा गर्न लागेको हो।
