धादिङ चैत्र-२५
अरुकै जग्गा बैना गरेर साढे ४५ लाख रुपैयाँ ठगी गरेर फरार भएको आरोप लागेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१ घर भइ काठमाडौं गोकर्णेश्वर नगरपालिका–७ दक्षिणढोका बस्ने ४३ वर्षीय रामकुमार चौलागाईं रहेका छन् ।
चौलागाईँ लाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पुर्याइएको छ ।
अरुले प्लटिङ गरेको जग्गालाई आफ्नो भन्दै साढे ४५ लाख रुपैयाँ बैना लिई ठगी गरेको पाइएको अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले बताए ।
यो बाहेक उनीविरुद्ध काठमाडौं उपत्यकाकाकै विभिन्न कार्यालयहरुमा ८ वटा ठगी तथा बैंकिङ कसुरको उजुरी परेको छ । जसमा १ करोड ७५ लाख ८५ हजार रुपैयाँ बिगो रहेको पाइएको छ ।
यो मुद्दामा पनि उनी फरार हुँदै आएका थिए । अहिले पक्राउ परेको साढे ४५ लाख ठगीको समेत कसुर गरेर उनले कुल सवा २ करोड ठगी गरेको पाइएको प्रहरीको भनाइ छ ।
