सोलुखुम्बुको लिखुपिके गाउँपालिका कार्यालयमा आगलागी

सोलुखुम्बुको लिखुपिके गाउँपालिका कार्यालयमा विद्युत् सर्ट भएर आगलागी भएको छ । गाउँपालिकाको केन्द्र काफ्लेचौरस्थित पालिकाको कार्यालय रहेको घरमा आइतबार दिउँसो आगलागी भएको हो । 

गाउँपालिकाको प्राविधिक शाखा, स्टोर र प्रधानमन्त्री रोजगार शाखा रहेको स्थानीय रुद्रबहादुर खत्रीको ढुङ्गा, माटो र टिनको छानो भएको घर जलेर नष्ट भएको लिखुपिके गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतले जानकारी दिइन् । उनका अनुसार गाउँपालिकाको महत्वपूर्ण कागजात र स्टोरमा राखिएका सामाग्रीहरू जलेर नष्ट भएका छन् । यद्यपि, क्षतिको यकिन विवरण आईसकेको छैन । 

सोलुखुम्बुका प्रहरी प्रमुख द्वारिकाप्रसाद घिमिरेका अनुसार बिजुली सर्ट भएर आगलागी भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरी चौकी चौलाखर्कबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोली र स्थानीयबासीको सहयोगमा आगो निभाएको थियो । 

बिजुली सर्ट भएर सुरु भएको आगो पालिकाको स्टोरमा रहेको ग्यास सिलिण्डरसमेत विस्फोट भएपछि थप फैलिएको थियो । 

दुई दिनदेखि यस क्षेत्रमा विद्युत अवरुद्ध थियो । विद्युत सुचारु भएलगत्तै सर्ट भएर आगलागी भएको हो । आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन । 

Related posts

Leave a Comment