धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ९मा जिल्ला स्तरीय सितोरियो कराँते प्रतियोगिता उद्दघाटन समारोह सम्पन्न भएको छ ।
वडाको चण्डेश्वरी माध्यमिक विद्यालय परिषरमा आज एक कार्यक्रमका विच नीलकण्ठ नगरपालिकाका प्रमुख भिम प्रसाद ढुङ्गानाले उक्त प्रतियोगिताको उद्दघाटन गर्नु भएको हो । चण्डेश्वरी माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्ली प्रसाद लम्सालको अध्यक्षतामा सम्पन्न भएको उद्दघाटन समारोहमा नेपाल नगरपालिका संघको अध्यक्ष एवम् नीलकण्ठ नगरपालिका को प्रमुख भिम प्रसाद ढुङ्गानाको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि जिल्ला समन्वय समितिका उपप्रमुख कुलमान विश्वकर्मा, नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समितिका संयोजक मनराज भण्डारी, नेपाल सितोरियो कराँते संघका अध्यक्ष दावा लामा, नेपाल सितोरियो कराँते संघ तथा नेपाल कराँते संघ बागमती प्रदेशका अध्यक्ष गगन लामा लगायतको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रमुख अतिथि भिम प्रसाद ढुङ्गानाले नीलकण्ठ नगरपालिकालाई खेलकुद हबको रूपमा विकसित गर्नका लागि नगरपालिकाको सहयोगमा विभिन्न खेलको आयोजना गरेको बताउनुभयो । उहाँले समुदायमा आयोजना गरिएको खेलकुद तथा संस्कृतिक कार्यक्रमको सहयोगले गर्दा पर्यटन विकासका साथै आर्थिक स्थिती चलायमान बनेको र व्यवसायमा पनि वृद्धि र प्रचार बढेको बताउनुभयो । देशमा सरकारद्धारा खेलकुद क्षेत्रमा कम लगानी भएको कारण खेल क्षेत्रमा सोचे जति विकास हुन नसकेको र खेलाडीहरुले आत्मनिर्भर बन्नको लागि अन्य पेसालाई अंगाल्नु परेको बताउनुभयो ।
त्यसैगरी विशेष अतिथि मनराज भण्डारीले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्नुहुदै खेलकुदबाट व्यक्तिले स्वास्थ्य लाभ लिन सक्ने र राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा आफ्नो र देशको पहिचान विकसित गर्न सक्ने बताउनुभयो । उहाँले खेलकुद क्षेत्रको विकासका लागि एकता बद्ध भएर लाग्नु पर्ने र केन्द्र, प्रदेश र स्थानीय सरकारले खेलकुदमा बजेटको वृद्धि गर्नु पर्ने बताउनुभयो । उहाँले खेल क्षेत्रमा राजनितिकरण नगरी खेलाडी लाई खेलकुदको माध्यमबाट आफ्नो पहिचान बनाउन दिनुपर्ने बताउनुभयो ।

नेपाल सितोरियो कराँते संघका अध्यक्ष दावा लामा खेल बाट आत्म रक्षा र प्रतिष्ठाको विकास हुने र खेलकुद नेतृत्व विकासको पहिलो खुड्किलो समेत भएको बताउनुभयो । निगालपानी डो को आयोजनामा सञ्चालन भएको प्रथम निगालपानी जिल्ला स्तरीय सितोरियो कराँते प्रतियोगिता भोली फागुन १० गते समापन हुने छ ।
