काठमाडौं । जनकपुर नाइट्सले पहिलो संस्करणको नेपाल कबड्डी लिग (एनकेएल) को उपाधि जितेको छ । शुक्रबार भएको रोमाञ्चक फाइनलमा काठमान्डु माभरिक्सलाई हराउँदै जनकपुरले उपाधि जितेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा शुक्रबार भएको निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक फाइनलमा काठमान्डुलाई ४५—४१ ले हराएर जनकपुर च्याम्पियन बनेको हो ।
अपराजित रहँदै च्याम्पियन बन्ने क्रममा जनकपुरले अन्तिम मिनेटमा शानदार पुनरागन गरेको थियो । पहिलो हाफमा २५—१९ ले पछि परेको काठमान्डुले दोस्रो हाफमा पुनरागमन गर्दै २२—२० को अग्रता बनाएपनि जितसम्म पुग्न सकेन । एक समय काठमान्डुले पुनरागमन गर्दै ३४—३४ को बराबरी गरेको थियो ।
त्यसपछि ४१—३७ को अग्रता बनाउँदै जित नजिक पुगेपनि काठमान्डुले अग्रतालाई होल्ड गर्न सकेन । जनकपुरले प्रतियोगिताभर अपराजित लयलाई कायम राख्दै फाइनलमा पनि निरन्तरता दिएर उपाधि जित्न सफल भएको हो ।
काठमान्डुका मार्की तथा कप्तान घनश्याम रोकामगरलाई रोक्ने रणनितिमा जनकपुर सफल भयो ।
