संघीय संसदको हिउँदे अधिवेशनको तयारीमा जुटे सभामुख र दलहरू

यही माघ १८ गतेदेखि आह्वान भएको संघीय संसदको हिउँदे अधिवेशनको तयारीमा सभामुख र दलहरू जुटेका छन्। आगामी संसद् अधिवेशनलाई प्रभावकारी बनाउन सभामुख र दल आ–आफ्नै किसिमले तयारीमा जुटेका हुन्।

यस क्रममा सभामुख देवराज घिमिरेले आइतबार सत्तापक्षका ठुला दलका प्रमुख सचेतकसँग छलफल गरेका छन्। सभामुख घिमिरेले काँग्रेसका प्रमुख सचेतक श्याम घिमिरे र एमालेका प्रमुख सचेतक महेश बर्तौलालाई आफ्नो कार्यकक्षमा बोलाएर छलफल गर्नुभएको हो ।

राष्ट्रियसभाबाट पास भई प्रतिनिधिसभामा पुगेका विधेयकबारे सत्तापक्षको धारणा बुझ्न सभामुखले छलफल गरेको बताइएको छ। विशेष गरी संवैधानिक परिषद् सम्बन्धी विधेयक र मर्यादासम्बन्धी विधेयकबारे सभामुख घिमिरेले प्रमुख सचेतकहरूको धारणा मागेका हुन्। यस्तै यसबारे सोमबार फेरी एक पटक बस्ने कुरा भएको काँग्रेसका प्रमुख सचेतक घिमिरेले बताउनुभयो।

सभामुख घिमिरेले आइतबारै प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतकसँग बसेर छलफल गर्ने तयारी गर्नुभएको छ।

यता संसद् अधिवेशनलाई प्रभावकारी बनाउन भन्दै सत्ता पक्षका दलहरू जुटिसकेका छन्। विशेष गरी कानुन निर्माणबारे विधेयकमाथि साझा धारणा बनाउँदै काम प्रभावकारी बनाउन कार्यदलमार्फत काम भइरहेको दुवै दलले जनाएका छन्।

Related posts

Leave a Comment