नेकपा (एमाले) को विद्यार्थी सङ्गठन अनेरास्ववियूका स्थायी कमिटी सदस्य कमलराज जोशीलाई थप सात दिन थुना (हिरासत)मा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ।
ठमेलको अमृत मार्गमा ड्यूटीमा खटिएका प्रहरी कुटेको आरोपमा बिहीबार पक्राउ परेका जोशीलाई थप सात दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले शुक्रबार (आज) अनुमति पाएको हो।
जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराका अनुसार जोशीलाई अभद्र व्यवहारको कसूरमा सात दिन हिरासतमा राखेर अनुसन्धान गरिनेछ।
जोशीसहितले गत माघ २४ गते राति ठमेलको अमृत मार्गमा ड्यूटीमा खटिएका प्रहरी हवल्दार जगुलाल चौधरी र जवान नगेन्द्रराज विष्टलाई कुटपिट गरेका थिए।
