नेकपा (एमाले) की सांसद रेखाकुमारी शर्माविरुद्ध मुद्दा नचल्ने भएपछि काठमाडौं महानगरका मेयर बालेन्द्र साहले पीडित बालिकासँग माफी मागेका छन्।
मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै मेयर साहले पीडित बालिकासँग माफी माग्दै नआत्तिन पनि भनेका छन्।
मेयर साहले लेखेका छन्,’सरी नानु, तिम्रा पिडककाविरूद्धमा मुद्दा नचल्ने बनाएछ सरकारले । नआत्तिनु । समय आउनेछ । यस्तै विभेद, अपराध मास्न अनि ती कुकर्म गर्नेहरूलाई तह लगाउन तिमी र तिमी जस्तै धेरै नानीबाबुले पढ्न पर्छ । समाज बुझ्न पर्छ ।’
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं र उच्च सरकारी वकिलको कार्यालय पाटनले नाबालिकालाई घरेलु कामदार बनाएर हिंसा गरेको आरोप लागेकी लुम्बिनी प्रदेशकी नेकपा (एमाले) की सांसद रेखाकुमारी शर्माविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको थियो।
गत जेठ १४ गते बालुवाटारको एक घरबाट नाबालिकाको उद्धार भएको थियो। काठमाडौं महानगरपालिकाको टोलीले नाबालिकाको उद्धार गरेपछि त्यो घर रेखाकुमारी शर्माको भएको खुलेको थियो।
महानगरले नै जिल्ला प्रहरी परिसर काठमाडौंमा शर्माविरुद्ध जाहेरी दिएका थिए। तर प्रहरीले पनि सत्ता निकट भन्दै छानबिन नै नगरेको आरोप लागेको थियो।

