धादिङ, ८ –असार
नीलकण्ठ नगरपालिका–३, धादिङबेसीमा विपन्न दलित सशक्तिकरण कार्यक्रम अन्तर्गत आयोजित १५ दिने सिलाई कटाई एडभान्स तालिम सम्पन्न भएको छ।
“समृद्ध नीलकण्ठ नगरको आधार: कृषि, पर्यटन, उद्यमशीलता सहितको पूर्वाधार” भन्ने नाराका साथ संचालन गरिएको उक्त तालिम २०८१ जेठ २१ गतेदेखि सुरु भई २०८१ असार ८ गतेसम्म संचालन गरिएको थियो। तालिम नीलकण्ठ नगरपालिकाको आयोजनामा तथा नगर कार्यपालिकाको कार्यालय, धादिङको सहकार्यमा सम्पन्न भएको हो। साथै, बागमती प्रदेश सरकारअन्तर्गत सामाजिक विकास मन्त्रालयको सामाजिक विकास कार्यान्वयन इकाइको साझेदारीमा तालिम संचालन गरिएको थियो।

दलित समुदायका महिलाहरूको सीप अभिवृद्धि र आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको तालिममा विभिन्न वडाका ८ जना महिलाहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्दै नीलकण्ठ नगरपालिकाका उप–प्रमुख तथा कार्यक्रम अध्यक्ष दीपक विश्वकर्माले तालिममा सिकिएको सीप र अनुभवलाई आयआर्जनमा रूपान्तरण गरी आत्मनिर्भर बन्न सहभागीहरूलाई आग्रह गरे। उनले पछिल्लो समय समुदायमा शिप तथा तालिमप्रति घट्दो रुचिप्रति चिन्ता व्यक्त गर्दै, यस्ता कार्यक्रमले व्यावसायिक आत्मनिर्भरता र सामाजिक रुपान्तरणमा योगदान पुर्याउने बताए।
नगरपालिकाका अनुसार, यस्तो प्रकारका तालिमहरू आगामी दिनमा पनि निरन्तर रूपमा संचालन गरिनेछ।
